
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएका हुन् । यसअघि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा जारी छलफलकै क्रममा कांग्रेस सांसद गगनकुमार थापाले यस विषयमा सभामुखको ध्यानाकर्षण गराएका थिए ।
सांसद थापाको ध्यानाकर्षणका आधारमा सभामुख सापकोटाले यौन हिंसाका दोषीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । केही वर्ष पहिले मोडलिङका नाममा यौन हिंसा गरेको भन्ने विषय पीडितले नै सार्वजनिक गरेपछि दोषीलाई कारवाही गर्न माग गरिएको छ ।
दोषीमाथि कारवाहीको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडिसमेत शुक्रबार अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।











