Logo
Logo

बलात्कारसम्बन्धी कानुनमा जतिसक्दो चाँडै संशोधन गर्न आरजुको माग



काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले नेपालमा बलात्कारसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न संसद्समक्ष अनुरोध गरेका छन् ।

बलात्कार सहेर बाँचेकाहरुलाई आफ्नो पीडाबारे सार्वजनिक रुपमा बोल्न समय लाग्छ र न्यायको लडाइँ सुरु गर्ने साहस जुटाउन पनि उनीहरुलाई धेरै वर्ष लाग्न पनि सक्छ भन्दै उनले हाल विद्यमान रहेको वर्षदिनभित्र उजुरी गरिसक्नुपर्ने लगायतका कानुनी प्रावधानहरुमा संशोधन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

महिला स्वास्थ्य तथा महिला अधिकारका क्षेत्रमा अभियान सञ्चालन गर्दै आएकी कांग्रेस नेत्री डा देउवाले विश्वका राष्ट्रहरुले पनि दशकौँपछि पनि बाल यौन दुराचारी र बलात्कारीहरुमाथि अभियोग लगाउन र कानुनी कठघरामा ल्याउन अनुमति दिने समय सीमा रहेका कानुनहरु परिवर्तन गरेका दृष्टान्त पेस गर्दै नेपालको सो कानुनमा संशोधन गर्न माग गरेका हुन् ।

कांग्रेस नेत्री डा देउवाले नेपाल सरकार, विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानुन संशोधनका लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानुन फास्टट्र्याकबाट पारित गर्न अनुरोध गरे ।

बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्ने र उनीहरुका लागि जिन्दगीको सबैभन्दा त्रासद् क्षणमा पुगेर समयको घडी ठप्प रोकिएजस्तो हुने भन्दै उनले त्यसैले बलात्कारको पीडाबारे बोल्ने र कानुनी उपचार खोज्ने कुनै समय सीमा हुन नहुने बताए।

प्रतिक्रिया दिनुहोस्