
काठमाडौं । प्रदेश नं. १ प्रदेश सभा सदस्यबाट राजीनामा दिएर मेयर बन्न गएका एमालेका प्रदेशसभा सदस्य काजीमान कागतेले लज्जास्पद हार व्यहोरेका छन् ।
नेकपा एमालेबाट विद्रोह गरी बनेको नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार रणबहादुर राईसँग इलामको सूर्योदय नगरपालिकामा पराजित भएका हुन् । कागते एक हजार ८५२ मतान्तरले पराजित भएका हुन् ।
कागतेले १० हजार ५७९ मत ल्याए भने राईले १२ हजार ४३१ मतसहित मेयरमा निर्वाचित भएका हुन् ।
कागते २०७४ सालको प्रदेशसभा निर्वाचनमा इलामा–१ (ख) मा नेकपा एमालेबाट निर्वाचित भएका थिए । तर, यस पटकको स्थानीय तह निर्वाचनमा मेयरका लागि प्रतिस्पर्धा गर्न प्रदेशसभाबाट राजीनामा दिएका थिए ।
कागते २०७४ को स्थानीय तह निर्वाचनमा पनि मेयरका आकांक्षी थिए । तर, टिकट नपाएर बसेका कागतेले पछि प्रदेश सभा सदस्यको टिकट पाए । यसपटक पनि मेयर बन्ने उनको चाहना पूरा हुन सकेन ।














