Logo
Logo

उपप्रमुखमा चित्त बुझाउँदै एमाले


11.9k
Shares

काठमाडौं । महानगर र उपमहानगरका अधिकांश स्थानमा प्रमुख गुमाएका नेकपा एमालेले उपप्रमुख भने आफ्नो पोल्टामा पारेका छन् । देशका ६ महानगरमध्ये एमालेले विराटनगरमा उपप्रमख पोल्टामा पारिसकेको छ भने काठमाडौं, ललितपुर र पोखरामा फराकिलो अग्रता लिइरहेको छ ।

एमालेले अहिलेसम्म एकमात्र उपमहानगरको प्रमुख जितेको छ । एमालेले बाराको कलैया उपमहानर प्रमुख र उपप्रमुख दुवै जितेको छ । कलैयामा एमालेका विनोदप्रसाद साह प्रमुख र रौशन परविन उपप्रमुख मा निर्वाचित भएका छन् ।

यस्तै, एमालेले ११ उपमहानगरमध्ये कलैया, जितपुर सिमरा र घोराहीमा उप्रमुख जितिसकेको छ भने इटहरी, तुलसीपुर, बुटवल, र धनगढीमा पनि अग्रता लिइरहेको छ ।

गठबन्धनको भागबन्डामा एकीकृत समाजवादीले महानगरमा एक प्रमुख र एक उपप्रमुख, उपमहानगरमा एक प्रमुख र तीन उपप्रमुख पाएको थियो । जसमा हेटौंडा उपमहानगरको प्रमुखमा नेकपा एकीकृत समाजवादीका मीना लामाले जितिसकेका छन् ।

यस्तै, पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य फराकिलो मतान्तरले अगाडि छन् । गठबन्धनको भागबण्डामा काठमाडौं महानगरको उपप्रमुख एकीकृत समाजवादीलाई परेको छ । तर, काठमाडौंको उपप्रमुख नेकपा एमालेले खोस्ने पक्कापक्की जस्तै देखिएको छ ।

काठमाडौंमा एमालेका उम्मेदवार सुनिता डंगोलले २६ हजार कटाउँदै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले फराकिलो मतान्तर पछि पारेका छन् । एकीकृत समाजवादीका उपप्रमुख उम्मेदवार श्रेष्ठले हालसम्म ८५९१ मत मात्र पाएका छन् ।

यस्तै, बुटवल उपमहानगरपालिकाको उपप्रमुख पनि एकीकृत समाजवादीको हातबाट खोसिने सम्भावना छ । एमालेकी सावित्राकुमारी अर्यालले २० हजार ६४ मत पाउँदा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले झण्डै ६ हजार मतले पछाडि रहेका छन् ।

यस्तै, सुनसरीको इटहरी उपमहानगरमा पनि एकीकृत समाजवादीले उपप्रमुख गुमाउने पक्का जस्तै देखिएको छ । शनिबार बिहान १० बजेसम्ममा एमालेका संगीता चौधरीले एकीकृत समाजवादीका केशवकुमार विष्टलाई ११ हजारभन्दा बढी मतान्तरले पछाडि पारेका छन् । चौधरीले २५ हजार ६ सय ६ मत ल्याउँदा विष्टले जम्मा १४ हजार ६ सय ६ मत पाएका छन् ।

बाराको कलैयामा पनि नेकपा एमालेका उम्मेदवार रौशन परिवनले जसपाका प्रमोदप्रसाद गुप्तालाई हराएका छन् । जितपुर–सिमरा र घोरीहीमा कांग्रेसले उपमेयरमा हार बेहोरेको छ । जितपुर सिमरामा गठबन्धनबाट साझा उम्मेदवार कांग्रेसका मेघा शाहीलाई एमालेका भोलाप्रसाद अधिकारीबाट पराजित गरे ।

गठबन्धनबाट कांग्रेसलाई पोखराको उपप्रमुखमा भागमा परेको छ । तर, यहाँ पनि एमालेले खोस्ने सम्भावना बढेको छ । पछिल्लो मतगणना अनुसार एमालेका मञ्जु गुरुङ ३३ हजार २ सय २१ मतसहित अग्रता लिएका छन् । कांग्रेसकी कोपिला रानाभाटले ३२ हजार ९ सय ५९ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, घोराहीमा प्रमुखसमेत गुमाइसकेको नेकपा माओवादीले धरानबाहेक उपप्रमुखको रक्षा गर्ने सम्भावना कमजोर देखिएको छ । धनगढी उपमहानगरमा एमालेका कन्दकला रानाले १० हजार ८ सय ८० मत पाएर माओवादीका शान्ति अधिकारीलाई उछिनेका छन् । अधिकारीले १० हजार ७ सय २ मतसहित पछ्याइरहेका छन् ।

ललितपुर महानगरमा एमालेका मञ्जली शाक्यले मााओवादी केन्द्रका बाबुराज महर्जनलाई तीन हजारभन्दा बढी मतान्तरले पछाडि पारेका छन् ।

यसैगरी दाङ तुलसीपुरको प्रारम्भिक २५ प्रतिशत मतगणना हुँदा एमालेकी स्यानी चौधरीले ८ हजार १ सय ६० मतसहित अग्रता कायम गरेका छन् भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीको उम्मेदवार जोगबहादुर राना ६ हजार ७ सय ३३ मतसहित पछ्याइरहेका छन् । दाङको तुलसीपुरका ढिलागरी मतगणना सुरु भएको हो ।

यहाँ जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनबाट प्राप्त उपमेयर नेपालगञ्जमा मात्रै जोगाए । विराटनगर महानगरपालिकामा पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव एमालेकी शिल्पा कार्कीसँग हार बेहोरे ।

प्रतिक्रिया दिनुहोस्