Logo
Logo

एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवलमा कांग्रेसको फराकिलो जित



बुटवल । बुटवल उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले फराकिलो मतान्तरले विजयी भएका छन् ।

यो नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर पनि हो । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेले यसपटक एमालेकै बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित भएका हुन् भने भट्टराईले २२ हजार ५९७ मत पाए ।

नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । पाण्डेयको यो जितसँगै बुटवलको नेतृत्वमा २५ वर्षपछि कांग्रेसले पुनरागमन भएको हो । यहाँ २०५४ सालयताका सबैजसो चुनावमा नेकपा एमालेले जित्दै आएको थियो ।

यस्तै, उपमेयरमा नेकपा एमालेका सावित्रा अर्याल निर्वाचित भएका छन् । एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई ७ हजार ९२२ मतले पराजित गर्दै अर्याल निर्वाचित भएका हुन् । अर्यालले २४ हजार ९०४ मत पाएर निर्वाचित हुँदा गुरुङले १६ हजार ९८० मत पाएका छन् ।

बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ भने एमालेले वडा नं १०, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्