Logo
Logo

दिर्घकालिन योजना बनाएर अघि बढ्छौँ : रमण थापा


रमा भण्डारी

1k
Shares

पाल्पा । रामपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रमणबहादुर थापाले नगरबासीको समृद्धिको लागि दिर्घकालिन योजना बनाएर अगाडि बढ्ने बताएका छन् ।

शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगरप्रमुख थापाले योजनाबद्ध रुपमा विकासमा केन्द्रित हुने प्रतिवद्धता गरे ।
थापाले कालीगण्डकी नदी किनारका धार्मिक स्थलँग जोड्ने पैदलमार्ग निर्माण, एक घर एक धारा कार्यक्रमलाई पूर्णता दिने, कालीगण्डकीमा जलयात्रा सुचारु गर्नेलगायतका योजना रहेको बताए ।

उनले यसअघि संक्रमणकालीन अवस्थामा पनि खरको छानारहित नगर, ढलरहितको शहर, उज्यालो नगर, युवा स्वरोजगार अन्तर्गत व्याज अनुदान, गौशाला निर्माण, शीतभण्डारलगायतका अनुकरणीय कार्य पनि स्मण गरे ।

उनले नगरभित्रका श्रमिकहरुको लागि अनिवार्य विमा लागू गर्ने, मजदुरहरुको व्यवस्थापनको लागि मजदुर गृह निर्माण गर्ने, ज्यालामा एकरुपता ल्याउने, जेष्ठ नागरिक स्याहार केन्द्र सञ्चालन गर्ने, सामाजिक सुरक्षा भत्ता लिन निशुल्क यातायातको व्यवस्था गर्ने योजना ल्याउने उनले बताए ।

साथै थापाले शहरलाई व्यवस्थित बनाउन हाउजिङ्ग निर्माणमा जोड दिने, एक वडा एक कलरको कार्यक्रम सञ्चालन गर्ने, पर्यटन प्रवर्द्धनका लागि खैरेनी वनमा गिद्धरेष्टुरेण्ट स्थापना गर्ने, फोहोर दिर्घकालिन व्यवस्थापन गर्ने, बजार क्षेत्रको सडकलाई सुन्दरता प्रदान बताए ।

उपप्रमुख बालकुमारी थापाले पाँच वर्षे कार्यकाल नगरबासीको सेवामा निष्पक्ष र अनुसाशित ढंगले समर्पित हुने बताए । उनले कार्यपालिकामा रहेर पाँच वर्षमा लिएको अनुभवसँगै विज्ञहरुको सल्लाह र अग्रजहरुको सुझाव अनुसार अघि बढ्ने अठोट गरे । न्याय र विकासका लागि विचारको आधारमा विभेद नगरी अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले पत्रकारहरुलाई सही सुचना सम्प्रेषणमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा रामपुर नगरपालिका क्षेत्रमा सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्