काठमाडौं । बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । यो पटकको निर्वाचन मतपरिणामले पार्टी र संंगठनका उम्मेदवारले मात्रै भोट पाउन सक्छ भन्ने कुरालाई चिरेको छ ।
दलका उम्मेदवारहरुलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवार घोषणा गरेर चुनावमा होमिएकाहरुले पाएको मतले सबैको ध्यान स्वतन्त्र उम्मेदवारतर्फ खिचेको छ । यसबीच स्वतन्त्र उम्मेदवारबारे अनेक बहस सुरु भएको छ । स्वतन्त्र उम्मेदवारले चुनाव जिते पनि भनेजस्तो काम गर्न नसक्ने जस्ता बहस पनि सुरु भएको छ । तर, उनीहरुले ल्याएको मतको सन्देशले भन्दै छ ‘अब दलका नेताहरु नसुध्रिए जनता आफै विद्रोहमा उत्रिनेछन् ।’

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’, धरान उपमहाहनरगरपालिकामा हर्कराज राई ‘साम्पाङ’, धनगढी उपमहानगरपालिकामा गोपाल हमाल र जनकपुरधाम उपमहानगरपालिकामा मनोज साहले ल्याएको मतले जनताको ध्यान उनीहरुतर्फ खिचेको छ ।
यीमध्ये धनगढी उपमहानगरपलिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल विजयी भइसकेका छन् भने धरान उपमहानरगपालिकामा पनि हर्कराजको जित भइसकेको छ । त्यस्तै, काठमाडौं महानरगपालिकामा बालेनले पनि सुरुवातीदेखि नै अग्रता कायम गरेका छन् । यता जनकपुरधाम उपमहानगरपालिकामा पनि सुरुवातीदेखि नै अग्रता कायम गरेका मनोज साहको जित निश्चित जस्तो भइसकेको छ ।
को हुन् मनोजकुमार साह सुडी ?
सत्तारूढ गठबन्धनका बाबजुद नेपाली कांग्रेसबाट विद्रोह गरी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उठेका मनोज साहले बटुलिरहेको मतले सबैको ध्यान खिचेको छ ।
मनोज २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार लालकिशोर साहसँग फराकिलो मतान्तरले पराजित भएका थिए । अघिल्लो चुनावमा लालकिशोरले २१९०३ मत ल्याउँदा मनोजले १११६४ मात्रै पाए । तर, चुनाव हारे पनि उनले जनताका बीच पुगेर काम गर्न छाडेनन । जनकपुरधाममा विस्तारै आफ्नो छवि र ‘भिजन’ मतदातासामु राख्दै गए ।
आफूले त्यही बेलादेखि काम गरेरै आफ्ना लागि भोट मागिरहेको उनी स्वयंम बताउँछन् । सबै उम्मेदवारले चुनावको १०÷१२ दिन मात्रै भोट माग्छन् । तर उनले २०७४ मा चुनाव हारेदेखि नै मत माग्न थालेका थिए । ‘वर्षको ३६५ दिन जनताको सेवा गरिरहेँ, पूजा गरिरहेँ र मत पनि मागिरहेँ,’ मनोजले भनेका छन् ।
मनोजले उपमहानगरमा कांग्रेसको सभापति भएर पछिल्लो साढे चार वर्षयता निरन्तर संगठन पनि विस्तार गरेका थिए । सत्तारूढ गठबन्धनले जसपाबाट निवर्तमान मेयर लालकिशोरलाई नै उम्मेदवार बनाउने निर्णयविरूद्ध मनोजले स्वतन्त्र उम्मेदवार उठेका हुन् । बलियो स्वच्छ र काम गर्ने उम्मेदवारको खोजीमा रहेका मतदाताले उनको उम्मेदवारसँगै कांग्रेसका कार्यकर्ता र समर्थकले पनि मतमार्फत विद्रोह गरेको देखिन्छ ।
चुनाव जितेपछि चालु आर्थिक वर्षको बजेट बनाउने पहिलो काम गर्ने मनोजको भनाई छ । समग्र गुरुवर्ग र विशेषज्ञहरूलाई बोलाएर छलफल गरी कस्तो बजेट र योजना ल्याउने खाका बनाउने उनले भिजनअनुसार डिपिआर तयार गरेर बजेट ल्याउने तयारी गरेका छन् ।
‘दलको दलदल’ छिचोलेर उदाएका हमाल
गोपाल हमालले २०७४ सालको स्थानीय निर्वाचनदेखि नै भन्दै आएका थिए, ‘देशमा जनताको सेवा गर्ने राजनीति चाहिएको छ । पेसेवर होइन । जबसम्म पेसेवर राजनीति रहिरहन्छ, कुनै परिवर्तन हुनेवाला छैन । परिवर्तनको सुरुवात म सुदूरपश्चिमबाट गर्दैछु ।’
ठ्याक्कै त्यस्तै भएको छ । सुदुरपश्चिमको एकमात्रै उपमहानगर धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हमाल विजयी भएका छन् । दलीय व्यवस्थामा पनि एउटा नागरिकले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जित्न सक्छ भन्ने पुष्टि गरेका छन् ।
हमालले कांग्रेसका नृपबहादुर वडलाई दोब्बर बढी मतान्तरले पराजित गर्न सफल भएका छन् । उनले २६ हजार ४ सय ४३ र वडले १४ हजार १ सय ४६ मत पाए । अघिल्लो निर्वाचनमा हमाल वडसँग झिनो मतले पराजित भएका थिए ।
को हुन् हमाल ?
२०२० सालमा कैलालीको झन्झटपुरमा जन्मेका हमालले धनगढीस्थित त्रिनगर माविबाट विद्यालय शिक्षा पुरा गरे । उच्च शिक्षा कैलाली बहुमुखी क्याम्पसमा गरे । प्रमाणपत्र तहको अध्ययन गरेका हमाल भारत्तोलनका राष्ट्रिय खेलाडी पनि हुन् । हमालले करिब ३ दशकदेखि धनगढी र सुदूरपश्चिममा थुप्रै सामाजिक कामको नेतृत्व गरेका छन् ।
०४२ सालमा धनगढीमा ब्लड बैंक स्थापनाका लागि स्वरसम्राट नारायण गोपाल, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठहरूको एकल साँझ भएको थियो, त्यसको नेतृत्व हमालले गरेका थिए । कहिले ‘सुन्दर सुदूरपश्चिम’ त कहिले ‘गन्तव्य सुदूरपश्चिम’ भन्दै प्रदेशलाई चिनाउने अभियान चलाए ।
कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा हमालले देशकै सर्वोत्कृष्ट शाखाको पुरस्कार पाए । त्यसपछि हमालकै नेतृत्वमा धनगढी विमानस्थल कालोपत्र गर्न ‘एक रुपैयाँ’ अभियान चलेको थियो ।
त्यस्तै उनले केही समयअघि निःशुल्क शववाहन सुरु गरेका थिए । त्यसले पनि उनलाई गाउँ गाउँसम्म परिचित गरायो । कपडा बैंक खोलेर धेरै हुनेहरूले दिने र नभएकाले लिने व्यवस्था मिलाए । धनगढीमा मात्रै उनले सयौंलाई रोजगारी दिएका छन् । हमालले यस्ता थुप्रै सफल र लोकप्रिय अभियानको तेतृत्व गरेका छन् । सामाजिक क्षेत्रको त्यही लोकप्रियतालाई उनले स्थानीय चुनावमा उपयोग गर्न सफल भएका छन् ।
अघिल्लो निर्वाचनमा २ हजार ७ सय मतले पराजित भएपछि उनी विवेकशील साझा पार्टीमा लागेका थिए । सो पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक पनि भए । तर, साझा पनि छिन्नभिन्न भएपछि स्वतन्त्र बस्नेभन्दै राजीनामा दिए । त्यसपछि स्वतन्त्र उममेदवार बनेका थिए । मेयरमा निर्वाचित भए राज्यबाट १ रुपैयाँ पनि नलिने उपमहानगरको गाडी पनि नचढ्ने उनले यसअघि नै घोषणा गरिसकेका छन् ।
स्थानीय सरकारको नेतृत्वले जनताभन्दा पार्टी, गुट, कार्यकर्ता प्राथमिकतामा राखेकाले भ्रष्टाचार बढेको उनको भनाइ छ । ‘मेरो कुनै पार्टी छैन, गुट छैन, कसैलाई भरणपोषण गर्नुपर्ने छैन । मेरो पहिलो प्राथमिकता जनताको काम हो, धनगढीको विकास हो,’ हमालले चुनाव प्रचारका क्रममा भन्ने गरेका थिए, ‘म कार्यकर्तालाई पाल्ने होइन, आफैँले पाउने सेवा सुविधासमेत जनताको सेवामा खर्च गर्छु भनेर संकल्प गरेको छु । भ्रष्टाचारी राजनीतिलाई कल्याणकारी बनाउनुपर्छ । यहाँ बाटो बनाउने, ठूलो सहर बनाउने कुरा मुख्य होइन, सबैभन्दा पहिले भ्रष्टाचार अन्त्य गर्नुपर्छ, जुन ममात्रै गर्न सक्छु ।’
हिजो बाहिर रहेर नेता र नेतृत्वलाई प्रश्न गर्ने हमाल अब प्रश्न सुन्ने र काम गर्ने ठाउँमा पुगेका छन् । प्रदेशको राजधानी रहेको धनगढी शैक्षिक, औद्योगिक, व्यवासायिक केन्द्र हो । प्रधानमन्त्री सेरबहादुर देउवा पत्नी आरजु राणाको निर्वाचन क्षेत्र पनि यही हो । त्यसैले यो क्षेत्र कांग्रेसको गढका रुपमा चिनिन्छ । यो हारलाई कांग्रेसले प्रतिष्ठाका रुपमा लिएको छ ।
अभियन्ताबाट राजनीतिमा आएका हर्कराज
खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका हर्कले शुक्रबारे माविबाट एसएलसी उत्तिर्ण गरेका हुन् । उच्च शिक्षा अध्ययनको लागि २०५५ सालतिर धरान झरेका हर्कले महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् ।
हर्क पूर्वब्रिटिश लाहुरेका छोरा हुन् । केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाए, र रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा पनि बिताए । हर्क गीतसँगीतमा पनि रुची राख्छन् । उनले एक दशकअघि ‘मिसिङ हर्ट’ नामको एल्बम पनि निकालेका छन् ।
२०७२ सालतिर धरान हुँदै जाने १०५ मिटरको मदन भण्डारी राजमार्गले धनकुटे रोड किनारका सयौं परिवारलाई उठीबास लगाउने भएपछि संघर्ष समिति बन्यो । त्यो समतिमा सहसंयोजक बने । धनकुटे रोड विस्तारविरुद्धको संघर्ष बनेपछि नै हर्क धरानको सामाजिक मुद्दाहरुमा आवाज थालेका थिए ।
भ्रष्टचार र बेथितीविरुद्ध निरन्तर बोल्ने जनताको जनजीविकाको सानो सानो विषयमा आवाज उठाइरहँदा नै आफूलाई विश्वास गरेको हर्क बताउँछन् । ‘मैले ठूलो मुद्दा उठाएको होइन, जनताको जनजिविकाको विषयमा आवाज उठाएको हो, जनतालाई ठूलो कुरा चाहिएको पनि होइन रहेछ,’ हर्कले भनेका छन्, ‘खानेपानीको बिषय उठाए, नगरपालिका र विपी प्रतिष्ठानको भ्रष्टचारबारे बोले, सुकुम्बासी संरक्षण र व्यवस्थानबारे बोले, सडकको खाल्डाखुल्डी, महंगी नियन्त्रणबारे पनि आवाज उठाए, त्यसैले जनताले मलाई नियालिरहनुभएको रहेछ ।’
हर्कले स्थानीय मुद्दा मात्र नभई सिमा अतिक्रमण र एमसिसिविरुद्ध पनि एक्लै प्रर्दशनमा हिँड्थे, कहिले सिमित संख्यामा आफ्नो समर्थकहरुको साथमा विरोध प्रर्दशन गर्थे । हर्कले सिमा अतिक्रमणको मुद्दा चर्किदा इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना अघि पनि पुगेर सेनालाई ब्यारेकमा होइन, सिमानामा खटाउ भन्दै प्रर्दशनसमेत गरेका थिए ।
सर्दु खोला जथाभावी उत्खनन् भएको विरोधमा जादा ठेकेदारको समुहले उनका समर्थकहरुलाई आक्रमण गरेर घाइतेसमेत बनाएको थियो । पछि प्रहरीले उल्टै उनी र उनका साथीहरुलाई मुद्दा चलायो । खानेपानी पाइप तोडफोड गरेको आरोपमा पनि उनी पक्राउ समेत परे ।
हर्क आफुले जे गर्छन्, आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्नै गरेका छन् । धरान र विदेशमा रहेका हजारौं मानिस उनीसँग त्यसरी जोडिएका छन् । उनले चुनाव चिह्न लौरो पाएपछि सबै वडामा घरदैलो गर्न पाएनन्, तर, फेसबुकबाट नै चुनावी अभियान गरेका थिए ।
आफ्नो शक्तिको स्रोत निष्ठा र निरन्तरता भएको बताउने हर्क २०७६ को धरानको मेयरको उपनिर्वाचनमा पनि उठेका थिए । त्यसबेला हर्कले ४२२ मत पाएका थिए । त्यसबेला पनि धरानेहरुले परिवर्तनको पक्षमा भोट दिँदै कम्युनिष्ट गढमा पहिलो पटक कांग्रेसका उम्मेद्ववार तिलक राईलाई जिताए ।
कम्युनिष्टले जित्दै आएको धरानमा कांग्रेसलाई जिताउदा पनि अपेक्षाकृत काम हुन नसक्दा निराश धरानेले यो पटक भने हर्कलाई विश्वास गरेर मत दिएका छन् ।
‘राजनीतिक दलहरुले धेरै लापरवाही गरे। खानेपानी माग्न जादा प्रहरी लगाउने, मुद्दा लगाउने गरेपछि जनतामा वितृष्णा बढेर गयो । जनप्रतिनिधिहरु जो सत्तामा पुगेपनि दुरुपयोग गरे, र चुनावी मैदानमा मैले टक्कर दिने स्थिति बन्यो,’ हर्क भन्छन् ।
उपनिर्वाचनमा हारेँ पनि हर्क सँधै जनताको माझमा थिए । टोलटोलमा समस्याहरु बुझ्दै हिँडिरहे, अहिले त्यहि निष्ठा देखेर आफुलाई धराने जनताले विश्वास गरेर भोट दिएको हर्क सुनाउँछन् ।
धरानमा निरन्तर खानेपानीको मुद्दा उठाइरहने हर्क आफु मेयरमा निवार्चित भएमा खानेपानीको चुहावट र कालाबजारी तत्काल रोक्ने काम प्राथमिकता दिने बताउँदै आएका छन् ।
को हुन् बालेन ?
देशको संघीय राजधानीजस्तो मुख्य सहर काठमाडौं महानगरपालिकामा एक्कासी निर्वाचनमा होमिएका बालेन्द्र साह ‘बालेन’ले ल्याएको देशका आम मतदातादेखि संसदसम्म चर्चा भइरहेको छ ।
काठमाडौंको जारी मतगणामा सुरुवातीदेखि नै अग्रता लिइरहेका बालेन जित्ने संकेत छ । तर, यो समाचार तयार पार्दासम्म मतगणानामा बालेन अगाडि छन् । करिब १ लाख ९१ हजार मत खसेको मतमध्ये अझै आधा मत गन्न भने बाँकी नै छ । तर, सुरुवादेखि नै उनले लिएको अग्रताले भने जित्ने संकेत देखिएको छ ।
यो पटकको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उठेकामध्ये सबैभन्दा धेरै ‘लामलाइट’ पाएका उम्मेदवार हुन् बालेन । ३१ बर्षीय बालेनले काठमाडौंको मेयर पदमा पाएको मतले दलका नेताहरुलाई चुनौती बनेको छ । आगामी चुनावमा आफ्ना दलका उम्मेदवारले मत कति काट्लान यो कस्तो उम्मेदवार उठाउने भन्ने चेत पनि दिएको छ ।
त्यसो त बालेनको पारिवारिक पृष्ठभुमि राजनीतिक होइन । काठमाडौंको नरदेवीमा जन्मेहुर्केका बालेन पेसाले ईन्जिनियर हुन् । सानैदेखि संगीततर्फ झुकाव राख्ने बालनेका बुबा आयुर्वेदिक डाक्टर हुन् । उनका दाजु चार्टर्ड एकाउन्टेट छन्, बहिनी चित्रकार हुन् भने बालेनकी श्रीमती सविना जनस्वास्थ्य क्षेत्रमा काम गर्छिन् ।
बालेनले कामठाडौंको भिएस निकेतन कलेजबाट प्लस-टु, खुमलटारको हिमालयन ह्वाइटहाउस इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ गरेका छन् । पहिल्यैदेखि नै राजनीतिक र सामाजिक विषयमा चासो राख्ने बालेन कविता पनि लेख्छन् । तर, देशको राजनीतिक अवस्था देखेर ‘फ्रस्टेट’ थिए ।
बैंगलोरबाट स्ट्रक्चरल इञ्जिनियरिङमा विशेषज्ञता हासिल गरेका बालेनले नेपाल फर्किएपछि इञ्जिनियरिङको पेसागत काममा तीव्रता दिए । भूकम्पपछि पुनर्निर्माणको काममा उनी एउटा संस्थामार्फत जोडिएर थुप्रै काम गरेका थिए ।
बालेनकी श्रीमति सविनाका अनुसार बालेन नाकाबन्दीका बेलादेखि राजनीतिक गतिविधिमा संलग्न हुन थालेका थिए । नाकाबन्दीताका फेसबुकको ‘एमआरआर’ समूहले आयोजना गरेको सडकभोजमा उनी सहभागी थिए । त्यस्तै अर्को समूह ‘दारी ग्याङ’ ले गर्ने विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुन्थे ।
र्याप र इञ्जिनियरिङ सँगै अघि बढाइरहेका बालेन राजनीतिमा भने सुरूमा विवेकशील पार्टीप्रति आकर्षित थिए । त्यसो त उनले विवेकशील पार्टीबाट राजनीति गर्ने चाहना पनि राखेका थिए । विवेकशील र साझा पार्टी एक भएर छुट्टिएका बेला उक्त पार्टीको सम्पर्कमा पुगेका थिए ।
त्यहीबेला उनलेआगामी चुनावमा विवेकशीलबाट मेयर उठ्ने चाहना पनि राखेका थिए । तर, बालेनले विवेकशीलको सदस्यता लिएनन् । मेयरमा उठ्ने सपना पनि छाडेनन् । आफ्नै तरिकाले उनी त्यसको तयारीमा लागे । सटिक र प्रस्ट बोल्न सक्ने बालेन उम्मेदवारी दर्ताका दिन पत्रकारहरूले उनलाई दलहरूको मत काट्ने विषयमा सोधेका थिए ।
बालेनले सिधा जवाफ फर्काए, ‘हो, म कांग्रेस, एमाले दुवैको भोट काट्न आएको हो । जित्न आएको हो ।’ बालेनले सार्वजनिक रूपमा दिने कतिपय अभिव्यक्ति पनि स्वाभाविक लाग्दैनन् । उदाहरणका लागि उनी आफू ९० हजार ८३५ मत ल्याएर निर्वाचन जित्ने बताएका छन् ।











