काठमाडौं, २४ असार ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’को फितलो प्रस्तुतीका कारण संसद बैठकमा हंगामा भएको छ । सर्लाही घटनाबारे बादलको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसहरुले संसद बैठक अवरुद्ध गरेका छन् ।
सर्लाहीमा भएको दुई गोलीकाण्डबारे गृहमन्त्री थापाले संसदलाई जानकारी गराएका थिए । त्यसउपर सांसदहरुले असन्तुष्टि व्यक्त गर्दै थप प्रश्न माग गरकोमा चित्तबुझ्दो ढंगले उनले जवाफ दिन सकेनन् । कुमार पौडेलको इन्काउन्टर तथा राजमार्गमा भएको आन्दोलनमा गोली प्रहार तथा पोखरीमा डुबेर बालकको मृत्यु प्रकरणमा निकै फितलो विवरण गृहमन्त्री थापाले प्रस्तुत गरेका थिए । कतिसम्म भने हवाई फायर गर्दा राजमार्गमा स्थानीय युवकको मृत्यु भएको बताएका थिए । जबकी चरणबद्ध रुपमा बल प्रयोग गर्ने क्रममा त्यहाँ प्रहरी गोली चलाउन बाध्य भएको थियो । त्यो विवरण समेत प्रस्तुत गर्न नसक्दा गृहमन्त्री विवादमा परेका हुन् ।
गृहमन्त्री थापाले राज्य मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध रहेको भन्दै सोही क्रममा सर्लाहीको घटना भएको स्पष्ट पारेका थिए ।
विप्लब समुहका कार्यकर्ताले सर्लाहीको लालबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रातिनिधि र व्यापारीलाई चन्दा माग्दै ज्यान मार्ने धम्की दिने गरेको गुनासोपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै केन्द्रबाट परिचालित समुह र विप्लव समुहका जिल्ला इन्चार्ज कुमार पौडेलको समुहबीच जम्काभेट हुँदा पौडेल समुहको तर्फबाट फायरिङ भएको र जवाफी फायरिङको क्रममा कुमार पौडेलको मृत्यु भएको बताएका थिए ।
सांसदहरुले तीनै घटनाको अध्ययनको लागि संसदीय समिति गठन नगरी बैठक चल्न नदिने भन्दै अवरोध गरेका हुन् ।
गृहमन्त्री थापा यस्तै फितलो प्रस्तुतीका कारण पटक पटक विवादमा परिसकेका छन् । सल्लाहकार समूह बलियो हुन नसक्दा उनी यसरी विवादमा पर्दै आएका छन् ।