काठमाडौं । चितवनको भरतपुर महानगरको मतगणना अवरुद्ध भएको छ । नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध बनेको हो ।
सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यसपछि एमाले कार्यकर्ताले विरोध गर्दै मतगणना अवरुद्ध गरेको हो ।
आफ्ना कार्यकर्तालाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने एमालेले अडान लिएको छ । मतगणना स्थलमा तोकिएको अधिकारीबाहेक प्रवेश निषेध गरिएको छ । तर ती प्रतिनिधि अनाधिकृत रुपमा प्रवेश गरेपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो ।
अहिले भरतपुरको मतगणना अन्तिम चरणमा पुगेको छ । माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाएका छन् ।











