भोजपुर, २५ असार । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पहिलो पटक प्रहरीको हत्या गरेको छ । भोजपुरमा सो समूह प्रहरी जवान सन्दिप राईलाई गोली हानी हत्या गरेको हो । प्रहरीको जवाफी कारबाहीमा विप्लवका जिल्ला इन्चार्ज समेत मारिएका छन् ।
सादा पोशाकमा रहेका प्रहरी जवान राईमाथि गोली प्रहार भएको हो । स्थानीय बासिन्दा र केही प्रत्यक्षदर्शीका अनुसार, विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु पनि हटिया क्षेत्रमै थिए । उक्त समूहको नेतृत्व सोलुखुम्बु स्थायी घर भएका तत्कालीन माओवादी जनयुद्धमा जनमुक्ति सेनामा काम गरेका निरकुमार राईले गरेका थिए ।
स्थानीयका अनुसार, निरकुमार राईले बुधबार विहान प्रहरी गस्तीको अघिअघि रहेका सन्दिप राईलाई समाते र कञ्चटमा गोली हाने । सन्दिप राई त्यहीं ढले । उनको केहीं समयपछि मृत्यु भयो ।
आफ्ना जवानमाथि गोली हानेर हत्या गरिएपछि गस्तीमा रहेको प्रहरी टोलीले निरकुमार राईतिर फायर खोल्यो । प्रहरीको गोलीले निरकुमार राई पनि मारिए ।
भोजपुरमा राम्रोसँग मोबाइलले काम नगरेकाले विस्तृत विवरण प्राप्त भइ नसकेको डिआईजी ठाकुर ज्ञवालीले बताए ।
विप्लव समूहले प्रहरीमाथि सांघातिक आक्रमण गरेको यो पहिलो घटना हो । गत महिना प्रहरीकै गोली लागेर भोजपुरमा विप्लवका एक कार्यकर्ताको मृत्यु भएको थियो ।