काठमाडौं । सम्पर्कविहीन भएको तारा एअरको विमान खोज्न गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको थासाङमा अवतरण भएको छ ।
थासाङबाट दुर्घटना भएको सम्भावित क्षेत्रमा पुग्न पैदला झण्डै ६ घण्टा लाग्ने बताइएको छ । जहाज मुस्ताङको धौलागिरि हिमाल र मानापाथी हिमालको फेद आसपासमा बेपत्ता भएको आशंका गरिएको छ ।

पोखराबाट जोमसोमका लागि आज बिहान ९ः ५५ मा उडेको थियो । विमान १० बजेर १२ मिनेटमा जोमसोम नागरिक उड्यन कार्यालयको टावरसँग सम्पर्क भएको थियो । सम्पर्कविहीन विमानमा चालक दलका ३ जनासहित २२ जना सवार थिए ।
जहाजमा पाइलट प्रभावकर घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा छन् ।
विमानमा दुई जर्मन नागरिक, चार भारतीय र १३ नेपाली यात्रु रहेको नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ । मौसम खराबीका कारण बेपत्ता जहाजको खोजिकार्य प्रभावित भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । विमानको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र सो क्षेत्रका स्थानीयलाई परिचालन गरिएको छ ।











