काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यस्तो धारणा राखेका हुन् ।
केही दिनअघि सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने फैसला गरेको थियो । उक्त फैसलाप्रति पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने, ‘सर्वोच्चबाट आएको फैसलाबाट म स्तब्ध छु ।’

उनले सर्वोच्चबाट जे आयो, त्यो विकासको बाधक भएको बताए । अध्यक्ष नेपालले भने, ‘सर्वोच्च अदालत विकासको सहयोगी हुनुपर्छ राज्यका कुनैपनि निकाय, बाधक हुने होइन ।’
उनले त्यहाँको वस्तुस्थितिबारे जानकारी नै नभइकन ‘बनाउन हुँदैन’ भनेर निर्णय गरिएको टिप्पणी गरे । अध्यक्ष नेपालले भने, ‘जुन ठाउँमा सोचिएको छ, त्यहाँ बनाउनु हुँदैन भन्ने निर्णय नै यथार्थ स्थितिको जानकारी नभइकन गरिएको छ ।’
उनले आफूले ६ पटक निजगढ बिमानस्थल निरीक्षण गरेको बताउँदै भने, त्यहाँ जंगल नै छैन । जंगल छैन भने वन विनास भैरहेको कसरी छ ?’ पोखराको भैरहवा एयरपोर्टले काठमाडौंको विकल्प दिन नसक्ने उनको भनाइ छ ।














