ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमा नगरक्षेत्रभित्र धूमपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताएका छन् ।

विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा आज यहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालको आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा उनले प्रत्येक घरघरमा गएर धूमपान सेवनविरुद्धको अभियान सञ्चालन गर्ने बताए ।
उनका अनुसार जनप्रतिनिधि र नगर प्रहरीले प्रत्येक घरमा गएर सुर्तीजन्य पदार्थ सेवन विरुद्धको अभियान सञ्चालन गर्ने छन् । नगरप्रमुख महर्जनले पाटन, पुल्चोक, जावलाखेल र लखनखेल धूमपान निधेष क्षेत्र घोषणा गरिसकेको भन्दै अन्य क्षेत्रलाई पनि घोषणाको तयारी गरेको बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले जनचेतनामार्फत धूमपान सेवनलाई नियन्त्रण गर्न सकिने बताए । उनले मन्त्रालयले मात्र नभएर सबैको सहयोगबाट धूमपान नियन्त्रण गर्न सकिने बताए । उनले मन्त्रालयले गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।














