
काठमाडौं । स्थानीय तह निर्वाचनमा नेकपा एमालेको हारलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘अन्तर्घात’ भने पनि पार्टी विभाजन नै प्रमुख कारण हो भन्ने ओलीको भित्री बुझाई छ । त्यसैले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन थालेका छन् ।
माधव नेपालको भित्री कमजोरी थाहा पाएका ओलीले आगामी प्रदेश र संघको निर्वाचनका लागि नेपाललाई प्रधानमन्त्री बनाएर जाने पहिलो रणनीति बनाएका छन् । माधवकुमार नेपालले मानेनन् भने ओलीको दोस्रो रणनीति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने हो ।
नेपाल र प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्नुको कारण गठबन्धन भत्काउनु हो । तर, नेपाल र प्रचण्ड ६ महिनाका लागि प्रधानमन्त्री बन्न गठबन्धन छाड्ने पक्षमा छैनन् । नेपाल र प्रचण्डले ओलीका दूतलाई यो कुरा सुनाइसकेका छन् ।
एमालेभित्र अहिले अध्यक्ष ओलीले पार्टी एकताका लागि मार्गप्रशस्त गर्नुपर्छ र पर्दैन भन्ने बहस तीब्र भएको छ । स्थानीय तह निर्वाचनमा पार्टीले व्यहोरेको क्षतिलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा पुरताm गर्नका निम्ति पार्टी एकता र वामगठबन्धनको दिशातर्फ अग्रसर हुनुपर्ने बहुसंख्यक एमाले नेताको राय छ । तर, ओली ‘मार्गप्रशस्त’ का नाममा अध्यक्ष पदबाट राजीनामा दिन तयार छैनन् । अझै नेपाल र प्रचण्डलाई ‘ललिपप’ देखाएर गठबन्धन भाड्ने पक्षमा छन् ।
स्थानीय निर्वाचनको परिणाम आएपछि एमालेभित्र विकसित घटनाक्रमलाई हेर्दा कि पार्टी एकता कि अर्को विभाजनको दृश्य देखिन्छ । ओली यसरी नै अहंकारी र दम्भी भएर पेश हुने हो भने पार्टी त रसातलमा पुग्छ नै, थुप्रै नेता र कार्यकर्ताका सपना पनि त्यससँगै चकनाचुर हुने स्थितिबारे कुरा उठाउने नेताहरुलाई ओलीले निषेध गर्न थालेका छन् ।
ओलीसँग नियमित भेट्ने नेताहरूले ‘राजीनामा दिनुहुँदैन’, ‘पालिकाहरुको संख्यामा हारे पनि भोट हाम्रै बढी छ’, ‘बरु, गठबन्धनमा फुट ल्याउनुपर्छ, राजीनामा त दिनै हुँदैन’ जस्ता सुझाव दिँदै फर्किएका छन् । यी सुझावहरू सुनेर ओली दंग छन् । तर, स्वयं ओलीसँग कुरा राख्ने अवसर नपाएका नेताहरू विभिन्न अन्तर्वार्ता र आन्तरिक भेला, बैठकमा ओलीले ‘मार्गप्रशस्त’ गर्नुपर्छ भनिरहेका छन् ।
स्रोत भन्छ, ‘ती कुरा ओलीलाई मन परेको छैन ।’ एमालेका एकजना पोलिट्व्युरो सदस्य भन्छन्, ‘यसकारण एमालेमा ओलीलाई मन नपरेको र मन लागेको काम हुनै सक्दैन । त्यसैले पार्टी एकता सम्भव छैन ।’
एमालेभित्र विकास भएको ‘मार्गप्रशस्त’ र ‘छाड्नै हुँदैन’ भन्ने लाइनमा लागेका नेताहरू पनि थरिथरिका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको लाइन ‘मार्गप्रशस्त’ हो । तर, उनले यो लाइन लिनुका पछाडि पार्टी विभाजन गरेर गएका नेताहरू फर्किउन् र एकता होस् भन्नका लागि हैन । उनले ओलीले राजीनामा दिए त्यसलगत्तै आफू कावा अध्यक्ष हुन पाइन्छ भन्ने लोभले उनलाई ‘मार्गप्रशस्त’ को लाइन मन परेको हो ।
यदि, ईश्वर पोखरेलका लागि त्यस्तो मौका आएमा त्यसैमा टेकेर केही समय पार्टी अध्यक्ष चलाउने र एकताका क्रममा अध्यक्षको हैसियतले आफू र आफ्ना मान्छेहरूको राम्रो सेटलमेन्ट गर्ने नियत उनले राखेको स्रोतले बताएको छ ।
‘अर्को कुनै भरपर्दो वरिष्ठ उपाध्यक्ष भए ओलीले यतिबेलासम्म कि राजीनामा दिएर कि कावा दिएर बिदा बस्थे, तर छट्टु स्याललाई कावा अध्यक्ष दिएर आफ्नै खुट्टामा बञ्चरो हानेजस्तो हुने भएकाले पनि उनी राजीनामाको कुरा सोचिरहेका छैनन्’, एक एमाले केन्द्रीय सदस्य भन्छन्, ‘अहिले ओलीका लागि अध्यक्ष पद त्याग्नु भनेको आत्महत्यासरह हुन्छ, त्यसैले उनी राजीनामा दिँदैनन् ।’
यदि कुनै कारण राजीनामा नदिई नहुने अवस्था आयो वा ‘मार्गप्रशस्त’ भनिएकाहरूलाई बीचको बाटोबाट मनाउनका लागि केही समय बिदामा बस्नुपर्ने भयो भने ओलीले अर्का उपाध्यक्ष रामबहादुर थापा (बादल) लाई विश्वास गर्न सक्छन्, तर ईश्वर पोखरेलको भर नभएको एमाले नेताहरूको भनाइ छ ।
स्वयं बादलका लागि पार्टी एकता वा वाम गठबन्धन हुने र नहुने कुरा ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ भनेजस्तो हो । किनभने, उनले प्रत्यक्षमा नभई समानुपातिकमा चुनाव लड्ने मनस्थिति बनाइसकेका छन् ।
त्यसैले चुनाव जित्ने र हार्ने विषयसँग उनको कुनै सरोकार भएन । त्यसमाथि पुराना एमालेहरूको झगडामा आफू ‘नयाँ एमाले’ ले बढी सिंगौरी खेल्दा आगामी दिनको भूमिका प्रभावित हुने उनको ठम्याई छ । यसको ठीक विपरित ईश्वर पोखरेल भने ‘मार्गप्रशस्त’ पक्षधर नेताहरूसँग हिजोआज नियमित संवादमा जुटेका छन् ।
ओलीले पार्टी एकताका निम्ति ‘मार्गप्रशस्त’ गर्नुपर्ने पक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, महेश बस्नेतसहितका नेताहरू छन् ।
विशेषतः अन्तिममा माधवकुमार नेपालको साथ छोड्ने, १०बुँदे सम्झौता पक्षधर नेतामध्ये सबैजसो ‘मार्गप्रशस्त’ पक्षधर छन् । तर, शंकर पोखरेल, विष्णु पौडेल, विष्णु रिमाल, योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, राजन भट्टराई, खगराज अधिकारी, गोकुल बास्कोटासहितका नेताहरू ‘कुनै हालतमा राजीनामा दिनु हुन्न’ भन्ने लाइनमा छन् ।
उनीहरू देशभरका पालिका प्रमुखका उम्मेदवारहरूले पाएको कूल मत ३८ लाख ९ हजार ६ सय ९८ र कांग्रेससँग ३७ लाख ३४ हजार ७ सय ७९ को आँकडा देखाउँदै पार्टी अहिले पनि ठूलै भएको जिकिर गर्दैछन् ।
‘कुनै हालतमा राजीनामा दिनुपर्दैन’ भन्ने पक्षका नेताहरूसँग ओलीनिवास बालकोटमा अलिक बढी कुराकानी हुने गरेको छ । तीमध्येका एकजना नेताले बताएअनुसार, अब ओलीले पुष्पकमल दाहाल प्रचण्ड वा माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर गर्दै एकताको आह्वान गर्ने मनस्थिति बनाएका छन् ।
यसक्रममा प्रचण्डलाई उक्त अफर सुनाउन केही नेतालाई ओलीले खुमलटार पु¥याइसकेका छन् । तर, माधवकुमार नेपाललाई पनि यो अफर सुनाउन भनी अह्राइएका नेताहरू उनीसँग जान हिचकिचाइरहेका छन् । ओलीले यो जिम्मा विष्णु पौडेललाई दिएका थिए । तर, पौडेलले ‘बेकारमा गाली खान किन जानु’ भन्दै आनाकानी गरेका छन् ।
ओलीको कोटरीमा नेपालसँग कुरा गर्नका लागि घनश्याम भुसाललाई तोकौँ भन्ने कुरा निस्कँदा ओलीले भनेका छन्, ‘घोडाले घाँससँग मित लगायो भने पार लाग्छ ? माधव नेपालकै मान्छेलाई माधव नेपालसँग कुरा गर्न पठाएर कहाँ हुन्छ ?’
भनिन्छ, घनश्यामलाई यस्तो जिम्मा दिइयो भने पनि उनी त्यसका निम्ति तयार छैनन् । उनले शुरुमा ओलीले बाटो खोल्नुपर्छ, त्यसका लागि राजीनामा नै दिनुपर्छ । त्यसपछि संस्थागत रुपमा कुरा चलाउनुपर्ने उनको लाइन छ ।
घनश्यामले ओलीपक्षीय एक नेतालाई भनेका पनि छन्, ‘अब पनि मान्छेहरुलाई टेस्ट गर्दै, खेलाउँदै, फकाउँदै काम चल्छ भनेर नसोचे हुन्छ, त्यो फेलियर स्टेप भइसक्यो । अब ठोस बाटो पक्डिनुपर्छ, त्यो भनेको कम्युनिष्ट आन्दोलन जोगाउने मूल्यमा पदको परित्याग नै हो ।’
एमालेको भुत्ते अस्त्र
‘एकताका लागि’ भनेर अहिलेसम्म एमालेभित्र चलिरहेका विविध कोणका बहसहरू ‘भुत्ते अस्त्र’ भएको माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूको ठम्याई छ । उनीहरू एमालेको आधिकारिक पक्ष एकता वा सहयकार्यका निम्ति अहिले पनि तयार नभएको बताउँछन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार, घनश्याम भुसालले भनेको एकताको कुरा एमालेको होइन, उनको व्यक्तिगत हो । ‘उहाँको कुरालाई हामी एमालेको कुरा भनेर बुझ्दैनौँ, जसको कुरालाई एमालेको भनेर बुझिन्छ, तिनीहरू वाम गठबन्धन, एकता र सहकार्य हुनै सक्दैन भनिरहेका छन्’, उनले भने, ‘कुराचाहिँ घनश्यामजीको ठीक हो, एमाले उहाँको कुरामा अगाडि बढ्न तयार छैन ।’
सैद्धान्तिक र रणनीतिक रुपमा पनि वामपन्थीहरूको बीचमा एकता र गठबन्धनको आवश्यकता भएको, तर यथास्थितिमा त्यो परिस्थिति परिपक्व नभएको उनी बताउँछन् । उनले भने, ‘विशेषतः राष्ट्रियताको कोणबाट हेर्दा एकताको झन् बढी आवश्यकता हो, तर अहिले नै हुन्छ कि हुँदैन भन्ने कुराले कुनै आकार लिइसकेको छैन ।’
उनका अनुसार, ओलीले प्रतिनिधिसभा विघटन गरेको कुरा असंवैधानिक थियो भनेर आत्मालोचना गर्छन् कि गर्दैनन् भन्ने कुरा महत्वपूर्ण छ । ‘व्यक्तिसँगको कुरामात्रै हैन, पूरै एमाले सच्चिन वा सुध्रिन तयार छ कि छैन भन्ने आधारमा ऊसँग एकता र सहकार्य हुन्छ कि हुँदैन भन्ने कुरा निर्धारण हुने हो’, श्रेष्ठले भने ।
एमालेबाट फ्याँकिएको एकताको तुरुप अल्मल्याउनका लागि मात्रै भएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा संगठन विभागका सचिव लक्ष्मण केसी बताउँछन् । ‘पद पाएर एकता हुने थियो भने हिजो पार्टी फुट्नुअघि यस्ता पद र प्रतिष्ठाका अनेकन प्रस्ताव नआएका हैनन्’ उनी भन्छन्, ‘अहिले पनि एमालेका साथीहरूले जसरी एकता–एकता भन्दै विभिन्न मोडलहरूको चर्चा गरेको सुनिन्छ, ती सबै भुत्ते अस्त्र हुन्, खिया लागेको खुकुरीले शिकार हुँदैन ।’
उनी एमालेलाई मात्रै एकता चाहिएको बताउँछन् । उनका अनुसार, एकीकृत समाजवादीलाई सुदृढ पाँचदलीय गठबन्धनमात्रै चाहिएको छ । ‘एकता’ को विषय अगाडि सारेर एकीकृत समाजवादीका कार्यकर्तालाई एमालेहरूले अल्मल्याउन मात्रै खोजेको उनको भनाइ छ ।
नेताहरू कोही पनि टसका मस नहुने स्थितिले एमाले सत्यानाशको बाटोतर्फ लाग्ने युवा नेता सुरेन्द्र मानन्धरको भनाइ छ । ‘गल्तीलाई गल्ती नै थियो भन्दा कम्युनिष्ट आन्दोलन जोडिन्छ, एमालेको त्यति ठूलो विरासत जोगिन्छ’, उनी भन्छन्, ‘तर, जो यो कुरामा चिन्तित हुनुपर्ने हो, उही व्यक्तिमा अझै पनि हठ र अहंकार पाइन्छ ।’ उनका अनुसार, एकता वा सत्यानाश बाहेक एमालेसँग तेस्रो बाटो छैन ।











