
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि उत्कृष्ट बजेट आएको बताएका छन् ।
प्रतिनिधिसभामा बजेटमाथि छलफल गर्दै नेता पुनले बजेट सकारात्मक आएको बताएका हुन् । आगामी वर्षको बजेटलाई समर्थन गर्न कुनै पनि राजनीतिक दलले हिचकिचाउन नपर्ने उनले बताए । नेता पुनले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु नै बजेटको मुख्य आकर्षण भएको बताए ।
बाँझो जमिनलाई उपयोग गर्ने नीति, धान, गहुँ, मकै लगायत बालीको न्यूनतम समर्थन मूल्य तोक्ने र कृषक पेन्सन योजना उत्कृष्ट रहेको उनले बताए । आगामी आर्थिक वर्ष धान, गहुँ, मकै र फलफूलको आयात ३० प्रतिशतले घटाउने लक्ष्य समेत स्वागतयोग्य रहेको उनले बताए ।
‘कृषिजन्य र औद्योगिक उत्पादन बढाएर रोजगारी सिर्जना गर्ने र गरिबी हटाउने लक्ष्य बजेटले लिएको छ,’ पुनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले २ लाखलाई रोजगारी दिने घोषणा बजेटमा राखिएको छ ।’ यस्तै, थप ५ लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य समेत स्वागतयोग्य रहेकाले बजेट समग्रमा प्रशंसनीय आएको पुनको भनाइ छ ।














