Logo
Logo

स्वास्थ्य क्षेत्रको सुधारका निम्ति सबैको सहयोग अपरिहार्य : स्वास्थ्यमन्त्री


504
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सबैको सहयोगको अपेक्षा गरेका छन् ।

यहाँ आज आयोजित मकवानपुरे समाज काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकार प्रयासरत रहे पनि सरकार एक्लैले मात्रै सुधार गर्न गाह्रो हुने बताउँदै सहयोगका निम्ति सबैलाई आग्रहसमेत गरे ।

मन्त्री खतिवडाले भने, ‘सरकारले समग्र स्वास्थ्य सुधारका निम्ति कटिबद्ध भएर काम गरिरहेको छ, हामीले थालेको प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौँ, सबैले आआफ्नो ठाउँबाट प्रयास गरेको खण्डमा छिट्टै सुधार गर्न सकिन्छ ।’

शनिबार सम्पन्न समाजको दोस्रो साधारणसभाबाट अरुणकुमार गुरुङको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । मन्त्री खतिवडाले उक्त कार्यसमितिलाई आफ्नो निवासमा एक सङ्क्षिप्त बधाई कार्यक्रम राख्दै सबैलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

उनले समाजले स्वास्थ्य सेवाका साथै सामाजिक सेवामा उल्लेखनीय योगदान गरेको चर्चा गर्दै आगामी दिनमा पनि संस्थाले अझ बढी योगदान गर्नुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खतिवडाले भने, ‘आगामी दिनमा समाजले मकवानपुर जिल्लालाई नै केन्द्रित गरेर अझ व्यापक र फराकिलो ढङ्गले मानवीय र सामाजिक काममा भूमिका बढाउनुपर्छ, त्यसका लागि मेरो व्यक्तिगत र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट सहयोग गर्न सधैँ तयार छु ।’

समाजका अध्यक्ष गुरुङले मञ्चले आगामी दिनमा व्यक्तिगत स्वार्थ र कुनै पनि राजनीतिक भावनाभन्दा माथि उठेर विशुद्ध सामाजिक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्