काठमाडौं । नेपाल एकीकरण अभियानका सारथी काजी कालु पाँडेको स्मृति दिवस उनको योगदानको स्मरण गर्दै मनाइएको छ । स्मृति दिवसमा चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित पाँडेको समाधिस्थल परिसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँडेको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेकी छन् ।

काजी कालु पाँडे, तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले नेपालीकरणको विकासका क्रममा विभिन्न जातजातिहरूको समन्वय र संयुक्त योगदानको शृङ्खलालाई भुल्न नहुने र इतिहासको त्यही लयका आधारमा सङ्घीय गणतन्त्र नेपाललाई सवल बनाउन सकिने बताए ।
उनले काजी पाँडेले पुर्खाको गौरव र वीरगाथाको अनुभवबाट जातीय सद्भावसहित राष्ट्र निर्माणमा सबै केन्द्रित हुनुपर्ने बताए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पवनबहादुर पाँडेले जनता, सरकार र सेनाको समुच्चबाट नेपाल राष्ट्रको निर्माण र नवनिर्माण भएको तथा काजी पाँडेले त्यस मर्मलाई बलियोसँग आत्मसात गरेको बताए ।
विसं १७७० मा जन्मिएका काजी पाँडेले विसं १८१४ जेठ १९ मा कीर्तिपुरको आक्रमणका सहादत प्राप्त गरेका थिए ।
पाँडेको वीरताको सम्मानमा नेपाली सेनाको सहयोगमा समाधिस्थलमा विसं २०७८ मा कम्प्याउण्ड वाल, आइरन रेलिङ, सत्तल भवन निर्माण र स्तरोन्नति गरिएको छ । सो प्रतिष्ठान र नगरपालिकाको वडा नं १ को संयोजनमा समाधिस्थलका सौन्दर्यीकरण कार्य गरिएको छ ।














