काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धानलाई आफूले प्राथमिकतामा राखेको बताएका छन् । आफ्नो कार्यकालमा निर्मला प्रकरणलाई टुंगोमा पुर्याउन प्रयास गरिने उनले बताएका हुन् ।

आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सिंहले निर्मला हत्याकाण्डमा आरोपीमाथि अनुसन्धान जारी रहेको जानकारी दिए । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अभियुक्तलाई अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
आईजीपी सिंहले गलत काम गर्ने प्रहरीमाथि कारबाही सुरु गरिएको भन्दै बढुवाको हकमा मेरिट बेसमा गरिने बताए । उनले भने, ‘तलबाट टपक्क टिपेर कसलाई पनि ल्याइँदैन । ब्याचमा बेस्ट भएका अगाडि आउँछन् । सोर्सफोर्सले बढुवा हुँदैन । शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिन्छ ।’
उनले सामाजिक सञ्जालबाट मानसिक यातना दिने गरी महिलाविरुद्ध हुने हिंसामा जाहेरी परे अनुसन्धान हुने बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत हुने हिंसाबारे जाहेरी परे अनुसन्धान हुनेछ ।’











