काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन आफ्नो बाटोमा आएको भन्दै खुसी व्यक्त गरेका छन् । लिङ्देन नेतृत्वको राप्रपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफूलाई उभ्याएपछि थापाले खुसी व्यक्त गरेका हुन् ।

बिहीबार धुलिखेलमा सम्पन्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको वैठकले राजाको अभिभावकत्वमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने निर्णय लिएको थियो ।
उक्त निर्णयपछि थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणा सर्वप्रथम राप्रपा नेपालले २०७० सालको संविधानसभा चुनावमा आफ्नो घोषणापत्रमार्फत सार्वजनिक गरेको बताएका छन् । तर, पार्टी एकीकरणपछि त्यो एजेन्डा त्याग्न राप्रपा बाध्य भएको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘अहिले पुनः राप्रपा नेपालको बाटोमा राप्रपा आउन लागेको (?) मा खुसी लागेको छ ।’











