सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
हालै सम्पन्न स्थानीय निर्वाचनबाट अध्यक्षमा निर्वाचित राजकुमार महतोले बालविवाह रोक्न र छोरीहरूलाई पढ्ने उत्प्रेरणा दिन यस्तो निर्णय गरेका हुन् ।

स्थानीय चुनावको तयारी गर्नुअघि विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयमा काम गर्दै आएका महतो बागमती प्रदेशका संयोजक थिए ।
उनले भने, ६०/७० प्रतिशत बालविवाह हुने बताउँदै भागी विवाह गर्ने भयावह अवस्था रहेको भन्दै बाल विवाह कम गर्न २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको बताए ।
उनले भने, ‘१४–१५ वर्षका किशोरीहरूले उमेर नपुगी विवाह गर्दा एकातिर उनीहरूले पढाइ पूरा गर्न पाउँदैनन् अर्कातिर कम उमेरमा गर्भवती हुँदा उनीहरूको स्वास्थ्यमा समस्या हुन्छ । ५० हजार रुपैयाँ दिने निर्णयले सबै समस्या समाधान हुन्छ म भन्दिनँ तर यो पढ्न र २० वर्ष पूरा भएपछिमात्रै विवाह गर्न उत्प्रेरक हुन सक्छ ।’
एक पुस्ताका छोरीहरूले १२ कक्षा पास गरेर २० वर्ष पुगेपछि मात्रै विवाह गरे भने त्यसले अर्को पुस्तामा सकारात्मक सन्देश जाने उनको विश्वास छ ।














