चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले सो कुरा बताएका हुन् ।

केही दिनअघि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सार्वजनिक कार्यक्रममा कांग्रेसले पनि दम्भ र अहंकार बोके एमालेलाई जसरी ठेगान लगाइदिने चेतावनी दिएका थिए । तर, यसलाई कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने प्रवक्ता महतोको भनाइ छ ।
उनले भने, ‘उहाँ (प्रचण्ड)ले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा त्यो भन्नुभयो होला । त्यसलाई ज्यादा महत्व दिनुपर्छ भन्ने म ठान्दिनँ । नेपाली कांग्रेस कहिल्यै पनि अहंकारको बाटोमा छैन । यस विषयमा उहाँले आशंका गर्नुपर्ने आशंका पनि छैन ।’
प्रवक्ता महतोले कांग्रेसले वास्तविकताको धरातलमा उभिएर राजनीति गर्ने बताए । कांग्रेसको नेतृत्व एमालेको नेतृत्व जस्तो अहंकारको बाटोमा हिँड्छ कि भनेर आशंका गर्न जरुरी नभएको उनको भनाइ छ ।











