काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामएकताको आवश्यकता रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।

तर, आफूलाई वामपन्थी आन्दोलनका मुल नेता भनेर दावी गर्नेहरू एकताको पक्षामा नभएको बताए । उनले भने, ‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर, आफूलाई वामपन्थी आन्दोलनका मुल नेता भनेर दावी गर्नेहरू जो छन् । ती नेता नै एकताको पक्षमा छैनन् ।’
आवश्यकताबारे मूल नेताहरूले नै नबुझ्दासम्म वामपन्थी एकता सम्भव नभएको उनको भनाइ छ । उनले भने, ‘मुख्य नेताहरू नै वाम एकताको पक्षमा छैनन् । त्यसकारण नेताहरूले आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन्, त्यतिबेलासम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’











