Logo
Logo

सुवास नेम्वाङका कारण यौन हिंसा जस्तो गम्भीर विषयको छलफल रोकियो


21k
Shares

काठमाडौं । शुक्रबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल चलिरहेको थियो ।

पूर्व सभामुख सुवास नेम्वाङले आसनबाट उठेर छलफल भइरहेको विधेयक नपाएको गुनासो गरे । उनले बोलिसकेपछि सभाामुख अग्निप्रसाद सापकोटाले ध्यानाकर्षण भएको बताए तर एमालेका सांसदहरु उठेपछि बाँकी विषयमा छलफल नगरि बैठक स्थागित हुन पुग्यो ।

तर उनले बोलेका विषय झुट सावित भएको छ । संघीय संसदको विधेयक शाखाले जेठ १७ गते नै यौन हिंसा सम्बन्धी विधेयक सबै दलको पिजन होलमा राखिसकेको जानकारी दिएको छ । संसद सचिवालयले सो विधेयक जेठ १६ गते नै संघीय संसदको वेवसाइटमा राखिएको समेत जानकारी दिएको छ ।

आजको बैठकमा भने विधेयकको कपी नै नपाएको भनेर संविधानसभाका अध्यक्षसमेत रहेका उनले बोलेपछि एमालेले संसद अवरोध गर्यो । बाँकी कार्यसूचिमा चढेका विषय हटाएर जेठ २३ गते बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित भयो ।

प्रतिनिधि सभा नियमावली, २०७५ को परिच्छेद–४ बैठकको कार्यविधि अन्तर्गत १८ नम्बर बुँदामा कागजपत्रको वितरणसम्बन्धी व्यवस्था छ । प्रतिनिधि सभा नियमावलीको नियम १८ को २ मा पिजन होलमा राखेको सामग्री सम्बन्धित सांसदले स्वतः पाएको मानिने व्यवस्था छ ।

नियम १८ को १ मा कागजपत्रको वितरणमा ‘सचिवले आवश्यक कागजपत्र एवं सूचना सदस्यलाई उपलब्ध गराउनेछ’ भनिएको छ । यसकै दोस्रो नम्बरमा ‘यस नियम बमोजिम सदस्यलाई उपलब्ध गराउनुपर्ने कागजपत्र एवं सूचना सदस्यसँग सम्बन्धित पिजनहोलमा राख्ने व्यवस्था सचिवले मिलाउनेछ, यसरी पिजनहोलमा कागजपत्र एवं सूचना राखिएकोमा सम्बन्धित सदस्यले प्राप्त गरेको मानिनेछ’ भनिएको छ ।

पटक–पटक सभामुख भएका नेम्बाङले नै प्रतिनिधि सभा नियमावलीविपरीत विधेयकको कपी नपाएको बताएपछि यौन हिंसा जस्तो गम्भीर विषयमा शुरु भएको छलफल रोकिएको छ ।

भिडियो हेरौं–

प्रतिक्रिया दिनुहोस्