Logo
Logo

राष्ट्रिय वाणिज्य बैंक र घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्यसम्बन्धी सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल घरेलु तथा साना उद्योग महासंघ बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहिबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले हस्ताक्षर गरेका छन् । । सम्झौतापछि नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध रहेका उद्यमीहरुलाई महासंघको सिफारिसमा बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापश्चात देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताए । श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २२१ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीलले बैंकसँगको यो सहकार्यले घरेलु तथा साना उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुग्ने बताए । उहाले महासंघमा हाल ३५ हजार उद्यमी साधारण सदस्य रहेको र महासंघको सिफारिस बमोजिम लगानी भएको कर्जामा संस्थागत जमानत समेत रहने हुँदा कर्जा असुलीमा महासंघको पनि नैतिक दायित्व रहने बताएका छन् ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृत केशवप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु, महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार समिति सभापति बासुदेब गिरी, महासचिव डम्बरप्रसाद रेग्मी लगायत महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कृषि तथा सामाजिक बैंकिङ विभागका प्रमुख नारायणप्रसाद लामिछानेले कार्यक्रममाथि प्रकाश पारेका थिए भने उपप्रबन्धक रोहित रेग्मीले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्