काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन् । शनिबार राजधानीमा आयोजित दोस्रो चरणको ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समेट्ने मन्त्री कार्कीको भनाइ छ । साथै यस कार्यक्रमले डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उनले बताए ।
मन्त्री कार्कीले भने, ‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छ । यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ । यो कार्यक्रम अवधिभर मात्र नभएर सधैं भरी कायम गर्नुपर्छ ।’
यस्तै, सुचना प्रविधिको विकास विना मुलुकको विकास समेत असम्भव भएको बताउँदै उनले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगै लिएर जानुपर्ने बताए । दूर दराजका क्षेत्रमा समेत सूचना प्रविधि पहुँच पुर्याउन सरकारले सहयोग गर्ने उनको भनाइ छ ।














