Logo
Logo

मुख गन्हाउने कारण र कम गर्ने घरेलु उपाय



काठमाडौं । झट्ट हेर्दा सामान्य देखिएपनि मुखको दुर्गन्धले धेरै मानिसलाई सताइरहेको हुन्छ । मुख गन्हाउने समस्यले साथीभाईबीच मात्र नभई पति पत्नीबीच पनि दूरी उत्पन्न हुन सक्छन् । मानिस जतिसुकै सुटेडबुटेड देखिएपनि मुख गन्हाउने भन्ने बित्तिकै उसको व्यक्तित्व निकै तल्लोस्तरमा पुग्न सक्छ ।

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा यस्तो समस्या हुनसक्छ । तर, कतिपयको मुख गन्हाउँछ, अन्य दिनमा पनि । यसको कारण धेरै हुनसक्छ । गलत खानपान, पेटको समस्या, दाँत वा मुखको सरसफाई नहुनु आदिले मुख गन्हाउँछ ।

सामान्यत पेटको समस्या भएमा मुखबाट दुर्गन्ध आउँछ । त्यसैगरी चुरोट, खैनी सेवन गर्नेहरुको मुखबाट पनि दुर्गन्ध आउँछ । मुखमा घाउ खटिरा आएमा, गाँठागठी आएमा, गिजा पाकेमा, दाँतमा किरा लागेमा, खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा पनि मुख तथा सास गन्हाउने गर्छ । त्यसैगरी, दाँतको कापमा तथा मुखमा फोहर जम्मा भएर बसेमा पनि त्यहा अड्किएका फोहरका कारण मुख गन्हाउने गर्छ ।

कतिपय अवस्थामा चाहि मुखको दुर्गन्ध अरु समस्याले गर्दा हुनसक्छ । जस्तो कि, कलेजको संक्रमण भएमा । मिर्गौलाको समस्या भएमा ।

मुखको दुर्गन्धको समस्याबाट बच्न दैनिक कम्तीमा पनि दुईपटक ब्रस गर्नुपर्छ र जिब्रो सफा राख्नुपर्छ । दाँतको समस्याका कारण मुख गन्हाउने भएकाले नियमित परीक्षण गराउनुपर्छ ।

एन्टीब्याक्टेरियल तत्व हुने भएकाले ग्रीन टीले पनि मुख गन्हाउने समस्या कम गर्छ । यस्तै, चुरोट सेवन गर्ने मानिसमा पनि मुख गन्हाउने समस्या हुन्छ । यस्तो मानिसले बढी पानी पिउनुपर्छ । मिन्टवाला चुइङगम चपाउन पनि सकिन्छ । तर, चुईङगम सुगरफ्री भए राम्रो हुन्छ ।

केही घरेलु उपाय

अनारको बोक्रा पानीमा उमालेर कुल्ला गर्नाले, सुख्खा धनिया चपाउनाले, तोरीको तेलमा अलिकता नुन मिसार दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नाले पनि दुर्गन्ध कम हुन्छ ।

यस्तै, तुलसीको चार–पाँच वटा पात दिनहु खाएर पानी पिउनाले, एउटा ल्वाङ मुखमा राखेर चुस्नाले र खाना खाएपछि आधा चम्चा सौंफ चपाउनालेपनि खाना पच्ने र मुख गन्हाउने समस्याबाट छुटकारा मिल्छ ।

यति गर्दा पनि दुर्गन्ध हट्दैन भने एकपटक चिकित्सकको सल्लाह लिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्