Logo
Logo

गठबन्धनमा विश्वासघात भएको एकीकृत समाजवादीको निष्कर्ष


23.2k
Shares

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले गठबन्धनभित्र आफूहरूमाथि सम्मानजनक व्यवहार नभएको निष्कर्ष निकालेको छ । स्थानीय तह चुनावको समीक्षाका लागि आज (शनिवार) बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

एकीकृत समाजवादीले यसलाई पाँच दलमा छलफलको विषय बनाउने निर्णय पनि गरेको छ । आफूहरू गठबन्धनप्रति इमाननर भए पनि अन्य दलबाट अपमान भएको रिपोर्टिङ गरेको उपमहासचिव डा. गंगालाल तुलाधरले बताए ।

गठबन्धनका अन्य दलबाट धोखा भएको अनुभव भएको भन्दै उनले देशभरी संगठन हुँदा पनि आफूहरूले गठबन्धनमा विश्वास गरेर थोरै ठाउँमा मात्र उम्मेदवारी दिँदा विश्वासघात भएको बताए ।

बैठकले तल्ला कमिटीबाट अझै सम्पूर्ण सूचना नआएकाले चुनावी समीक्षा हुन नसकेको भन्दै सातै प्रदेशमा एक एक जना सचिवालय सदस्यलाई खटाएको छ । ती नेताले पाँच दिनभित्र सूचना संकलन गरी बैठकमा पेश गर्ने तुलाधरले जानकारी दिए ।

तुलाधरका अनुसार प्रदेश–१ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, बागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा विजय पौडेल, कणरलीमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा प्रकाश ज्वालाले सूचना संकलन गर्नका लागि जिम्मेवारी तोकिएको छ ।

शनिबारको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, गठबन्धनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको समीक्षा, आगामी कार्ययोजनाको बारेमा छलफल भएको उनले बताए ।

सचिवालयले गरेको समीक्षाको आधारमा प्रतिवेदन बन्ने र त्यसलाई तल्ला कमिटीहरुमा लैजाने उनको भनाइ छ । नेता तुलाधरले संगठनात्मक आधार हुँदा–हुँदै गठबन्धनमा सहभागी हुँदा पार्टीलाई भएको क्षति वा फाइदाको विषयमा गम्भीर समीक्षा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्