काठमाडौं । सरकारले शनिबार रातिदेखि कालीगण्डकी आयोजनाको १४० मेगावाटसहित कुल १७७.७ मेगावाट बिजुली भारत निर्यात गर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरू हुने भएको हो ।
प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युतगृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिक रूपमा करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार अनुसार शनिबार राति १२ बजेबाट कालीगण्डकीको बिजुली पनि भारत जाने भएको छ । ‘त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट ३७.७ मेगावाट र कालीगण्डकी जलविद्युत आयोजनाबाट १४० मेगावाट गरी कुल १७७.७ मेगावाट भारत जान लागेको हो,’ भट्टराईले भने, ‘आइतबारका लागि प्रतियूनिट औसत भारु ७ रुपैयाँ ४ पैसामा बिजुली बेचिनेछ ।’
नेपालले इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा बिजुली बेच्नका लागि गत वर्ष कात्तिकमा अनुमति पाएको थियो ।














