
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग काठमाडौंको फोहोर व्यवस्थापनबारे पुनः परामर्श गरेका छन् ।
बन्चरेडाँडामा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार मन्त्री झाँक्री र मेयर साहबीच छलफल भएको हो ।
मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको ‘सेल वान’मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेकोले फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने बताएकी छन् । उनले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटबारे मन्त्रालयले गरेको प्रतिबद्धता पुरा गर्ने समेत वचन दिए ।
जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको मागबारे प्राविधिक टोलीको अध्ययन प्रतिवेदनपछि मात्रै टुंगोमा पुग्न सकिने भएकाले तत्काल फोहोर व्यवस्थापन गर्नका लागि मन्त्रालयले समन्वय गर्ने उनले बताएकी छन् ।
काठमाडौंको फोहोर व्यवस्थापन आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउँदै मन्त्रालयलाई समन्वय गरिदिन महानगर प्रमुख साहले आग्रह गरेका थिए । छलफलमा उपमेयर सुनिता डंगोलको समेत सहभागिता थियो ।














