काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आफू पहिलोपटक भारतको लखनाउ, गुहाटी हुँदै काठमाडौं आएको बताएका छन् ।
आइतबार सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको ११औं साधारणसभालाई समबोधन गर्दै प्रधानमन्त्री देउवाले अहिले सुदूरपश्चिमले विकास निकै ठूलो फड्को मारेको बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘डडेलधुराबाट धनगढीसम्म पैदल, धनगढीबाट रेल चढेर लखनउ, लखनउबाट गुवाहटी, त्यहाँबाट रेल चेञ्ज गरेर रक्सौल पुगे । रक्सौलबाट गाडी चढेर काठमाडौं आएको हुँ । त्यस्तो अवस्था थियो पहिला ।’ उनले आफूले एसएलसी पास गरेर काठमाडौं छिरेको सुनाए ।
प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा विकासका थुप्रै सम्भावनासँगै गरिबीको समस्या कायम रहेको बताए । उनले भने, ‘सुदूरपश्चिमको ठूलो समस्या भनेको गरिबी हो । गरिबी अझै पनि हटेको छैन ।’
सुदूरपश्चिमका सारा युवा लाहुर जाने भन्दै भारततिर छिर्न बाध्य रहेको भन्दै प्रधानमन्त्री देउवाले भने, ‘हाम्रो देशको जुन पछिल्लो आर्थिक अवस्था छ, त्यो अनुसार सुदूरपश्चिमको विकास हुन सकेको छैन ।’
सुदूरपश्चिमको गरिबी र अशिक्षा हटाई समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि अझैपनि सबै क्षेत्रबाट पहल हुनु आवश्यक रहेको उनको भनाइ छ । देउवाले भने, ‘यो प्रदेश मानव विकास सूचकांकमा पछाडि छ । यसलाई माथि उठाउनुपर्ने छ । त्यसका लागि तीन वटै तहका सरकारले सहकार्य र समन्वय गरेर काम गर्नुपर्नेछ ।’











