
काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न अहिलेसम्म भएका निर्णय र प्रक्रिया सर्वोच्च अदालतले खारेज गरिदिएपछि जबर्जस्त जिज्ञासा छ– अहिलेसम्म नियमविपरीत भएका प्रक्रिया खारेज भएका हुन् कि निजगढको सम्भावना नै सकिएको हो ? यो विषय प्रस्ट छैन, किनकि निर्णय सुनाउँदा अदालतले एक लाइन पनि लिखित आदेश नदिई प्रवक्तामार्फत मौखिक जानकारी दिएको हो, पूर्णपाठ आउनै बाँकी छ ।
सर्वोच्चका पाँच न्यायाधीश सम्मिलित इजलासले सुनाएको फैसलाको पूर्णपाठको प्रतीक्षा गरिरहेका सबैका लागि सबैभन्दा ठूलो जिज्ञासा हो– अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढको विकल्पमा अध्ययन भएको छ कि छैन ? निजगढ किन छानिएको हो र विरोधको आधार के हो ? विकाससँगै वातावरणको सरोकार सम्बोधन गरेर निजगढमा नै विमानस्थल बनाउन सक्ने अवस्था छ कि छैन ? यी प्रश्नको जवाफ खोज्न २७ वर्षअघि पुगेर क्रमशः आजको दिनसम्म फर्कनुपर्ने हुन्छ ।
सन् १९९२ (वि.सं. २०४९० मा नेपालमा लगातार दुई अन्तर्राष्ट्रिय विमान दुर्घटनामा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्ने बहस सुरु भएको हो । त्यो वर्षको जुलाईमा थाई एयरलाइन्सको एयरबस नुवाकोटमा दुर्घटना हुँदा १ सय १३ जनाको ज्यान गएको थियो ।
दुई महिनापछि सेप्टेम्बरमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एयरबस ललितपुरमा दुर्घटना हुँदा १ सय ६७ जनाको मृत्यु भएको थियो । त्यस्तै विमानस्थलमा दुर्घटना तथा अवरोध हुँदा जहाज आकाशमा होल्ड गर्नुपर्ने मात्र होइन, भारततर्फ ‘डाइभर्ट’ गर्नुपर्ने भएकाले वैकल्पिक रन–वेसहितको विमानस्थलको खोजी भएको हो ।
विमानस्थल साँघुरो भएको र कुनै दुर्घटना भए बस्तीमा पनि क्षति पुग्ने डर भएकाले २०५० बाटै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी भएको बताउँछन् नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम । भन्छन्, ‘काठमाडौंको विमानस्थल वरिपरि घना सहर छ, जसका कारण यहाँ धावन मार्ग विस्तार गर्न सम्भव छैन । ठूला जहाज यहाँ अवतरण गर्न पनि गाह्रो छ । हवाई दुर्घटना भए काठमाडौंमा अकल्पनीय क्षति हुन पुग्ने देखेर तीन दशकअघि नै विकल्प खोजिएको थियो ।’ उनका अनुसार अर्को अन्तर्राष्ट्रिय विमानस्थल चाहिने निश्चित भएपछि राजधानी काठमाडौंबाट नजिकैको दूरीमा सम्भावित निर्माणस्थल खोजी हुन थाल्यो ।, यो समाचार कान्तिपुरबाट साभार गरिएको हो ।














