Logo
Logo

१० लाख घुसकाण्डः इन्सपेक्टरसहित सातविरुद्ध मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता


काठमाडौैं, २७ असार ।
गैंडाकोट प्रहरीले नक्कली चालक खडा गरी १० लाख रुपैयाँ घुस खाएको घटनामा इन्सपेक्टरसहित सात जनाविरुद्ध मुद्दा दायर भएको छ ।
वास्तविक चालक बोधराज पाण्डे, नक्कली चालक किशुना महतो र मतियार शालिकराम पाण्डेले इ.प्र.का. गैंडाकोटका तत्कालीन प्रमुख लोक बहादुर जि.सी, अपराध अनुसन्धान शाखाका प्रहरी नायव निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देव बहादुर थापा र सडक दुर्घटना प्रतिवेदन तयार पार्ने प्रहरी हवल्दार बल बहादुर वली विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

आयोगको बिज्ञप्तीभा भनिएको छ,‘इलाका प्रहरी कार्यालय गैंडाकोटका तत्कालीन प्रमुख प्रहरी निरीक्षक लोक बहादुर जि.सी.ले घाइते पक्षसंग सहमति कागजमा चालकको नाम किशुना महतो भनी उल्लेख गर्न निर्देशन दिएकोमा प्र.स.नि. देव बहादुर थापाले चालकको नाम किशुना महतो भनी उल्लेख गरी सहमति कागज गरी निज लोक बहादुर जि.सी.ले किशुना महतोलाई इ.प्र.का. गैंडाकोटमा बोलाई कानुनबमोजिम दिनु पर्ने पक्राउ पुर्जी थुनुवा पुर्जीसमेत नदिई स्वास्थ्य परीक्षण बिना नै निज किशुना महतोलाई सम्मानित अदालतबाट अनुमति नै नलिई कानुनविपरीत हिरासतमा राखी घाइते नन्दकली शर्माको उपचारको क्रममा मृत्यु भएपश्चात निज किशुना महतोको नाममा किटानी जाहेरी पार्ने परिपन्च मिलाई निज लोक बहादुर जि.सी.कै निर्देशनमा निज किशुना महतोलाई पक्राउ गरी बदनियतपूर्वक भए गरेका कुरा लुकाइछिपाई वारदातको समयमा चालक नै नभएका किशुना महतोलाई नक्कली चालक खडा गरी वास्तविक चालक बोधराज पाण्डेलाई उन्मुक्ति दिई गलत अनुसन्धान प्रतिवेदन पेश गरेको स्पष्ट देखिन्छ ।सवारी दुर्घटनामा मानिसको मृत्यु भएको जस्तो संवेदनशील मुद्दाको गहन अनुसन्धान गर्नुपर्नेमा अपराधमा सम्लग्न वास्तविक व्यक्तिलाई उन्मुक्ति दिने निरअपराधीलाई दोषी देखाउनेसम्मको कार्य गरेको पुष्टि भएको छ।’

ईलाका प्रहरी कार्यालय गैंडाकोट, अपराध अनुसन्धान शाखाका प्रहरी नायव निरीक्षक दामोदर भट्टराईले घटनास्थलमा अनुसन्धान अधिकृतको रुपमा कार्यरत रही बदनियतपूर्वक भए गरेको कुरा लुकाई छिपाई चालक नै नभएका किशुना महतोलाई चालक भनी प्रतिवेदन पेश गरी नक्कली चालक खडा गरेको थिए । इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक देव बहादुर थापाले इ.प्र.का., गैंडाकोटका तत्कालीन प्रमुख लोक बहादुर जि.सि.को निर्देशनबमोजिम चालक किशुना महतोको नाम उल्लेख गरी सहमति कागज गरेको खुलेको छ । उक्त वारदातका वास्तविक चालक बोधराज पाण्डे भएको जानी जानी निजले सो बेला लोक बहादुर जि.सी.को निर्देशनमा चालकको नाम किशुना महतो भनी उल्लेख गरी उक्त वारदातमा वास्तविक चालक परिवर्तन गरी किशुना महतो खडा गरी बदनियतपूर्वक भए गरेको कुरा लुकाईछिपाई चालक नै नभएका किशुना महतोलाई चालक भनी प्रतिवेदन पेश गरेको पाइएको।अस्थायी ट्राफिक प्रहरी पोष्ट गैंडाकोटका तत्कालीन कमाण्डर बल बहादुर वलीले वारदातका वास्तविक चालक बोधराज पाण्डे भएको जानी–जानी नै वारदातको समयमा सवारी नै नचलाएका किसुना महतोलाई चालक उल्लेख गरी सडक दुर्घटना प्रतिवेदन तयार पारी भए गरेको कुरा लुकाईछिपाई चालक नै नभएका किशुना महतोलाई चालक भनी सडक दुर्घटना प्रतिवेदन पेश गरेकोमा निजहरू चार जना इलाका प्रहरी कार्यालय गैंडाकोटका तत्कालीन प्रमुख प्रहरी निरीक्षक लोक बहादुर जि.सी., प्रहरी नायव निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देव बहादुर थापा र अस्थायी ट्राफिक प्रहरी पोष्ट गैंडाकोटका तत्कालीन कमाण्डर बल बहादुर वलीको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको हुँदा निजउपर सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदावी लिइएको छ।

साथै नक्कली चालक किशुना महतोले आफ्नो साहु बोधराज पाण्डेको लाभको लागि म नै चालक हो भनी झुठ्ठा विवरण दिई अनुसन्धानको क्रममा राष्ट्रसेवकलाई गलत प्रतिवेदन तयार गर्न सहयोग गरेको। वास्तविक चालक बोधराज पाण्डेले चलाएको बा.२०च. ११७९ नं. को जिप र विपरित दिशाबाट आएको ना.२८ प ४६८५ नं.को मोटरसाइकल एकआपसमा ठक्कर खाएकोमा निज ईलाका प्रहरी कार्यालय गैडाकोटमा उपस्थित भएको र उक्त रात निजलाई स्वास्थ्य परीक्षण गरी प्रहरी कार्यालयमै राखिएको, चालक परिवर्तन गरेको विषयमा निजले आफ्नो बयान कागजमा वारदातको समयमा जिप चलाउने मानिस किशुना महतो नभै निज बोधराज नै भएको भनी साविती बयान दिएको देखिन्छ, निजले चालक किशुना महतोलाई शालिकराम पाण्डेसँग मिली बनाएको योजना अनुसार चालक हो भन्न लगाई तथा घाइते पक्षसँग सहमतिको समयमा आफ्नो फाइदाको लागि किशुना महतोलाई झुठ्ठा विवरण दिनको लागि तयार गरी चालकको नाम किशुना महतो उल्लेख गरी झुठ्ठा विवरण दिन लगाई अनुसन्धानकर्ता राष्ट्रसेवक प्रहरी कर्मचारीलाई गलत प्रतिवेदन दिन सहयोग पुर्यााइएको। शालिकराम पाण्डेले बोधराज पाण्डेसँग चालक परिवर्तन गर्ने सल्लाह योजनाबमोजिम नै इलाका प्रहरी कार्यालयका तत्कालीन प्रमुख लोक बहादुर जि.सी.लाई समेत सहमत गराई सोही अनुसार चालक परिवर्तन गरी नक्कली चालक खडा गरी वारदातको समयमा सवारी नै नचलाएका किशुना महतोलाई चालक हो भनी झुठ्ठा विवरण दिने योजनादेखि कार्यान्वयनसम्मको कार्य निजकै संलग्नतामा भई मतियारको भूमिका निभाएको पुष्टि हुन आएकोमा निजहरू तीन जना नक्कली चालक किशुना महतो, वास्तविक चालक बोधराज पाण्डे र शालिकराम पाण्डेको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) को कसुरको मतियार हुने कार्य गरेको हुँदा सोही ऐनको दफा २२ को प्रतिबन्धांत्मक वाक्यांशबमोजिम सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्