
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन गर्न असफल भएको भन्दै सरकारले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख फेरेको छ । सीडीओ र प्रहरी प्रमुखसँगै निर्वाचन अधिकृत समेत फेरिएको छ ।
सरकारले प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझा र सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपक विष्टलाई फिर्ता बोलाएको हो । यसअघि नै निर्वाचन अधिकृत कृष्ण सापकोटाले राजीनामा दिइसकेका थिए ।
निर्वाचन सुरक्षामा गम्भीर लापारवाही भएका कारण वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्न नसकिएको भन्दै निर्वाचन आयोगले सीडीओ, प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखलाई कारवाही गर्न सरकारलाई पत्र लेखेको थियो ।
वैशाख ३० गते मतदानका दिन नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिने घटना भएपछि पुनः मतदान गर्नुपर्ने अवस्था बनेको थियो ।
सरकारले पुराना सीडीओ, प्रहरी प्रमुख र सशसस्त्र प्रहरी प्रमुख फेरेर नयाँलाई जिम्मेवारी तोकेसँगै निर्वाचन आयोगले जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी तयारी थालेको छ ।
को–को गए नयाँ ?
सरकारले नयाँ सीडीओको रुपमा प्रकाशचन्द्र अधिकारी, प्रहरी प्रमुखको रुपमा डीएसपी सूर्यबहादुर थापा र सशस्त्र प्रहरी प्रमुखको रुपमा डीएसपी गंगादत्त पन्तलाई बाजुरा पठाइएको छ । त्यसैगरी निर्वाचन आयोगले निर्वाचन अधिकृतको रुपमा लक्ष्मणबहादुर कडायतलाई पठाइएको छ ।











