Logo
Logo

जापानी विदेशमन्त्री आज नेपाल आउँदै, नेपाली कामदार लैजाने बारे छलफल हुने




काठमाडौं, २५ पुस ।

जापानी विदेशमन्त्री तारो कोनो आज (बुधबार) नेपाल आउँदैछन्। नेपाली कामदार जापान लैजाने विषय उनको भ्रमणको मुख्य एजेन्डा हुने छ ।


परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा तारो दुई दिने भ्रमणका लागि काठमाडौं आउने भएका हुन्।यस क्रममा नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधबार साँझ होटल याक एन्ड यतिमा हुने मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता हुनेछ।

भ्रमणका क्रममा तारोले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्री ज्ञवालीले दुई महिनाअघि जापानको औपचारिक भ्रमण गरेका थिए।

नेपाल जापान सम्बन्ध १८औं शताब्दीको अन्त्यतिरबाट सुरु भएको थियो। तर कूटनीतिक सम्बन्ध भने सन् १९५६ को सेप्टेम्बरमा स्थापना भएको थियो।

सन् १९६५ मा जापानको टोकियोमा नेपाली दूतावासको स्थापना भएको थियो भने जापानले सन् १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो।

यसैबीच नेपाल(फ्रान्स परामर्श बैठकका लागि फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तान पनि आज काठमाडौं आउँदैछन्।

बुधबार काठमाडौंमा हुने बैठकमा भाग लिन मोरिस पाँच सदस्यीय फ्रान्सेली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउने भएका हुन्।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवका अवसरमा नेपाल(फ्रान्स परामर्श बैठक हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्