Logo
Logo

मेरा सपनाले उनको ‘शान्ति’ पो बिथोल्यो कि !



हिलोमा कमल फुल्छ, ढूँगामा फुल्दैन । कमल फूलको खोजिमा थिएँ- सानै उमेरमा संवेदनशील थिएँ र ठूलो सपना बोक्न थालिसकेकी थिएँ ।

आफै पनि गरिबी र अभावको हिलोमा जन्मेँ । बल्ल–बल्ल स्कूल पढ्न पाएको, एसएलसी सिद्धिनासाथ स्कूलमा पढाउन पनि थालें ।

जीवनको नक्शा कोर्ने बेला थियो । कि त स्वास्थ्यकर्मी, कि भने शिक्षक भएर काम गर्दा नै जीवनलाई पवित्र राखेर अरुको पनि हित गर्ने कर्ममा लाग्न सकिन्छ भन्ने सोच थियो । त्यसैले देश, समाज अनि दुःखी पीडितको सेवामा लाग्ने सपना देख्न थालेँ ।

यही सपनाले गर्दा होला दिशानिर्देश गर्नसक्ने अभिभावक र गुरु भेट्न नसक्दा, देख्न सकिने नेता, सल्लाहकार कोही नहुँदा पनि एक्लै अगाडि बढ्ने आँट गरें होला । कसैको सल्लाह, अनुमतिबिना नै एउटा अँध्यारो बस्ती रोजें– काम गर्नका निम्ति । बत्ती खोजिरहेको थियो त्यो बस्तीले ।

स्कूलको नाम थियो– ‘आजाद प्राइमरी स्कूल’ । त्यो स्कूल वसन्तपुरबाट १०-१५ मिनेट हिंड्दा पुग्ने मध्य शहरभित्रको लगनटोल सवल बहालमा थियो ।

देशकै मुटु मानिने वसन्तपुर, न्यूरोड नजिकैको ठाउँ पनि कति अँध्यारो ! स्कूलको नाम मात्र छ– स्कूल भन्न सुहाउने अरु कुरा केही छैन । ‘आजाद स्कूल’ नाम सुन्दर सुनिन्छ । तर बच्चाहरुलाई पढाउन एउटा अत्यन्त साँघुरो सानो फल्चा मात्र ।

साइन बोर्ड थियो तर स्कूल भवन थिएन । सानो एउटा फल्चा (पाटी) थियो । बढिभए १५ जना केटाकेटी थिए होलान् विद्यार्थीका नाममा । उबेलाकै निम्ति ठ्याक्कै सुहाउँदो भेषभुषामा चस्मा लगाएका, हातमा एउटा छडी पनि बोकेका, कुर्सीमा उपरखुट्टी लगाई बसेका एकजना पाका मान्छे थिए– त्यो स्कूलका गुरु । उनी नै हेडमास्टर र सबै कक्षाका सबै विषयका एक्ला शिक्षक ।

स्कूल भवन छैन, क्लास रुम कहाँ होस् ! नयाँ शिक्षाले एउटा प्राईमरी स्कूलको निम्ति तीनजना सम्मको शिक्षकको दरबन्दी तोकिदिएपछि स्वयंसेवी भएर स्कूलमा पढाउन थालिसकेकी मलाई पनि औपचारिक शिक्षक नै भएर पढाउने अवसर प्राप्त भयो र नियमित तलब पनि आउने भयो ।

स्कूल रोज्ने अवसर पनि पाएकी थिएँ । कसैको करकाप थिएन । मलाई नियुक्ति पत्र दिँदा यति चाहिं भनिएको थियो– ‘लगनमा एउटा स्कूल छ– झोछेँ नजिकै । त्यहाँ पढाउने शिक्षकको खाँचो छ । एकपल्ट आफैं गएर हेर्नु न !’

त्यही स्कूल गएर हेरें । आफैंले समाजको अध्ययन गर्न, ज्ञान अनुभव हाँसिल गर्न भ्याएकै थिएन । जिल्ला शिक्षाको प्रतिनिधिसँग कुरा भएपछि लगत्तै त्यो स्कूल हेर्न पुगेकी थिएँ । रातभरी सुत्न सकिन ।

देशकै मुटु मानिने वसन्तपुर, न्यूरोड नजिकैको ठाउँ पनि कति अँध्यारो ! स्कूलको नाम मात्र छ– स्कूल भन्न सुहाउने अरु कुरा केही छैन । ‘आजाद स्कूल’ नाम सुन्दर सुनिन्छ । तर बच्चाहरुलाई पढाउन एउटा अत्यन्त साँघुरो सानो फल्चा मात्र ।

एकदेखि पाँच कक्षासम्मका विद्यार्थी एकै ठाउँमा बस्दा पनि खाली–खाली देखिने । बच्चाहरु स्कूल आउनै नमान्ने ! अचेल त त्यस्तो स्कूल विकट गाउँमा पनि भेटिँदैन होला भन्ने लाग्छ । शहरभित्रको दुर्गन्धयुक्त ठाउँ थियो ।

अहिलेको जस्तो फोहर व्यवस्थापनको कुनै संयन्त्र नभइसकेको बेला त्यही बस्तीका सफाई मजदूरले शहरबाट सफा गरी बटुलेका फोहर खर्पनमा बोकेर आफ्नै बस्तीमा खन्याउन ल्याउनु पर्ने बाध्यता थियो ।

त्यो अवस्थाको स्कूलको अवलोकन, अनि त्यसपछिको त्यो अनिंदो रात मेरो निम्ति ठूलो परिक्षा भइदियो– मेरो जीवनकै ‘विश्व विद्यालय’को प्रवेश परीक्षा ! परीक्षाको घडी सबैका निम्ति कठिन हुन्छ, मलाई पनि त्यस्तै महसुस भयो ।

त्यहाँ पस्दा नपस्दा नै कलेजको औपचारिक पढाईबाट छुट्टी लिईसकेकी थिएँ । ‘बुर्जुवा शिक्षा’को भूतले तर्साईसकेको थियो हामीलाई । ‘बिए, एमए भनेको सारा, रहेछ है राक्षसी बंगारा…’ बोलको गीत सुन्न भ्याइसकेका थियौँ ।

कसले लेखेको थियो त्यो गीत, त्यो पनि थाहा थिएन । त्यसलाई गहिरिएर आलोचनात्मक चेतका साथ बुझ्न पनि भ्याएको थिएन । काठमाडौंका केही कलिला मन भएका विद्यार्थी जानेर, नजानेर एउटा अदृश्य राजनीतिक गूटमा पसिसकेका थियौं ।

समाज र संसारलाई फेर्ने एउटा ठूलो सपनाले कतै डोर्याउँदै थियो । आफैले बाटोको नक्शा कोर्न भने जानिसकेको थिएन अझै । यस्तो अवस्थामा त अदृश्य नै भए पनि संगठनको आवाज पछ्याउनुको विकल्प पनि थिएन । तर यही स्कूलमा जान भने कसैको आदेश वा निर्देशन थिएन ।

रातभरी चिन्तन मनन पछि आफैले निर्णय गरेकी थिएँ– ‘त्यो स्कूलमा नै जान्छु जहाँ शिक्षकको साँच्चै खाँचो छ, अँध्यारो छ, बत्ती चाहिएको छ । एउटा स्कूल बनाउने र सकेसम्म धेरै विद्यार्थीलाई पढाएर हिलोमा कमल फुलाउने’ सपना देखेपछि एकाएक ममा सबै खालका चुनौतिहरुसँग लड्ने आँट पनि आयो । भोलिपल्ट समयमै स्कूल पुगें ।

सबैभन्दा अचम्म त हेडमास्टर हीराबहादूर तण्डुकारलाई नै लागेछ । मलाई हेर्याहेरै गर्नुभयो । निकै बेरपछि बल्ल मुख खोल्नु भयो– ‘नानी तपार्इं पढाउनै भनेर आउनु त भयो । साँचो कुरा भन्ने हो भने तपाईंले यहाँ पढाएर खानुहुन्न । म पो बुढो भएको मान्छे, अन्यत्र जाउँ भने पनि कहाँ जाउँ भनेर पो यहिँ अल्झिरहेकोछु । तपाईं जस्ता अरु पनि कति आए कति । तर एक दुई दिन पनि कोही टिक्न सक्तैनन्– फर्कन्छन् ..।’

उहाँको कुराले मलाई अचम्भित र निराश भने बनाएन । रातभरीमा मैले धेरै चुनौतिहरुको बारेमा सोंच्न भ्याईसकेकी थिएँ । मानसिक रुपमा म पूर्ण तयार भएर नै पुगेकी थिएँ । भित्रबाट मैले एउटा ठूलो परिक्षा पार गरिसकेकोले यो चुनौति एउटा अवसर पनि भएर मेरो अघि आईरहेजस्तो लागेको थियो ।

मैले मनमनै मात्र भनें– ‘हेरिराख्नोस् न ! यहाँ बच्चाहरु पढ्नका निम्ति एउटा राम्रो स्कूल बन्नेछ । यहाँको सबैखालको दुर्गन्ध हट्नेछ । सबैभन्दा ठूलो कुरा त मान्छे–मान्छे बीचको जातीय भेदभाव हट्नेछ । एउटा सुन्दर समाजको निर्माण हुनेछ…।’

औपचारिक शिक्षालाई त्यागे पनि स्वध्ययन जारी थियो । समाजवाद, साम्यवाद निर्माणका सपना देखाउने पुस्तकहरुसँगै श्यामप्रसाद शर्माको ‘बहिनीलाई चिट्ठी’ र महाकविका निबन्धहरु पढेर ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ जस्ता गह्रौं र ठूला कुरा आफ्नो सानो दिमागमा भर्दैथिएँ ।

उता पाका हेडमास्टर भने आफू समय कटाउन मात्र त्यहाँ अल्झेको स्वीकारोक्ति मसँग गर्दैथिए । उनी शायद एक्लै बस्नुमा नै कल्याण देखिरहेका थिए । अरु कोही आएर हैरान नपारोस् भन्ने लाग्दो हो । शायद मेरा सपनाले उनको त्यो ‘शान्ति’ पो बिथोल्यो कि !

तर म त्यहीँ पढाउन थालेँ । दिन, महिना हैन वर्षौँ बिताएँ, त्यही ठाउँमा ।

प्रतिक्रिया दिनुहोस्