Logo
Logo

इन्सपेक्टरले जोगाइदिए एसपीको जागिर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ असार ।
गैंडाकोटमा चालक परिवर्तन गरेको घटनामा एसपीको जागिर जोगिएको छ । पक्राउ परेका इन्सपेक्टरले एसपीलाई जोगाइदिएका हुन् । इलाका प्रहरी कार्यालय, गैडाकोटका प्रहरी निरीक्षक लोक बहादुर जि.सी.ले गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटना घटाउने वास्तविक चालकलाई छोडी नक्कली सवारी चालक खडा गरेका थिए । पूर्वी नवलपरासीका तत्कालिन एसपी रमेश थापाको समेत मिलेमतोमा सो घटना भएमोमा इन्सपेक्टर जिसीले बयानका क्रममा इन्कारी बयान दिएर एसपीलाई समेत जोगाएका हुन् ।


अख्तियारले एसपी थापाको समेत बयान लिएको थियो । घटनाबारे एसपीलाई सबै जानकारी भएकाले उनको समेत मिलेमतो देखिएको थियो । तर पक्राउ परेका कसैले पनि एसपीको नाम नलिएपछि उनी जोगिएका हुन् ।
अख्तियारले इन्सपेक्टर जिसीसहित वास्तविक चालक बोधराज पाण्डे, नक्कली चालक किशुना महतो र मतियार शालिकराम पाण्डे अपराध अनुसन्धान शाखाका प्रहरी नायव निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देव बहादुर थापा र सडक दुर्घटना प्रतिवेदन तयार पार्ने प्रहरी हवल्दार बल बहादुर वली समेतले गलत अनुसन्धान प्रतिवेदन तयार गरी कसुर गरेको भन्दै ुद्दा दायर गरेको थियो ।
आयोगको बिज्ञप्तीमा भनिएको छ, ‘इलाका प्रहरी कार्यालय गैंडाकोटका तत्कालीन प्रमुख प्रहरी निरीक्षक लोक बहादुर जि.सी.ले घाइते पक्षसंग सहमति कागजमा चालकको नाम किशुना महतो भनी उल्लेख गर्न निर्देशन दिएकोमा प्र.स.नि. देव बहादुर थापाले चालकको नाम किशुना महतो भनी उल्लेख गरी सहमति कागज गरी निज लोक बहादुर जि.सी.ले किशुना महतोलाई इ.प्र.का. गैंडाकोटमा बोलाई कानुनबमोजिम दिनु पर्ने पक्राउ पुर्जी थुनुवा पुर्जीसमेत नदिई स्वास्थ्य परीक्षण बिना नै निज किशुना महतोलाई सम्मानित अदालतबाट अनुमति नै नलिई कानुनविपरीत हिरासतमा राखी घाइते नन्दकली शर्माको उपचारको क्रममा मृत्यु भएपश्चात निज किशुना महतोको नाममा किटानी जाहेरी पार्ने परिपन्च मिलाई निज लोक बहादुर जि.सी.कै निर्देशनमा निज किशुना महतोलाई पक्राउ गरी बदनियतपूर्वक भए गरेका कुरा लुकाइछिपाई वारदातको समयमा चालक नै नभएका किशुना महतोलाई नक्कली चालक खडा गरी वास्तविक चालक बोधराज पाण्डेलाई उन्मुक्ति दिई गलत अनुसन्धान प्रतिवेदन पेश गरेको स्पष्ट देखिन्छ ।सवारी दुर्घटनामा मानिसको मृत्यु भएको जस्तो संवेदनशील मुद्दाको गहन अनुसन्धान गर्नुपर्नेमा अपराधमा सम्लग्न वास्तविक व्यक्तिलाई उन्मुक्ति दिने निरअपराधीलाई दोषी देखाउनेसम्मको कार्य गरेको पुष्टि भएको छ।

ईलाका प्रहरी कार्यालय गैंडाकोट, अपराध अनुसन्धान शाखाका प्रहरी नायव निरीक्षक दामोदर भट्टराईले घटनास्थलमा अनुसन्धान अधिकृतको रुपमा कार्यरत रही बदनियतपूर्वक भए गरेको कुरा लुकाई छिपाई चालक नै नभएका किशुना महतोलाई चालक भनी प्रतिवेदन पेश गरी नक्कली चालक खडा गरेको पाइएको । इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक देव बहादुर थापाले इ.प्र.का., गैंडाकोटका तत्कालीन प्रमुख लोक बहादुर जि.सि.को निर्देशनबमोजिम चालक किशुना महतोको नाम उल्लेख गरी सहमति कागज गरेको देखिन्छ, उक्त वारदातका वास्तविक चालक बोधराज पाण्डे भएको जानी जानी निजले सो बेला लोक बहादुर जि.सी.को निर्देशनमा चालकको नाम किशुना महतो भनी उल्लेख गरी उक्त वारदातमा वास्तविक चालक परिवर्तन गरी किशुना महतो खडा गरी बदनियतपूर्वक भए गरेको कुरा लुकाईछिपाई चालक नै नभएका किशुना महतोलाई चालक भनी प्रतिवेदन पेश गरेको पाइएको।अस्थायी ट्राफिक प्रहरी पोष्ट गैंडाकोटका तत्कालीन कमाण्डर बल बहादुर वलीले वारदातका वास्तविक चालक बोधराज पाण्डे भएको जानी(जानी नै वारदातको समयमा सवारी नै नचलाएका किसुना महतोलाई चालक उल्लेख गरी सडक दुर्घटना प्रतिवेदन तयार पारी भए गरेको कुरा लुकाईछिपाई चालक नै नभएका किशुना महतोलाई चालक भनी सडक दुर्घटना प्रतिवेदन पेश गरेकोमा निजहरू चार जना इलाका प्रहरी कार्यालय गैंडाकोटका तत्कालीन प्रमुख प्रहरी निरीक्षक लोक बहादुर जि.सी., प्रहरी नायव निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देव बहादुर थापा र अस्थायी ट्राफिक प्रहरी पोष्ट गैंडाकोटका तत्कालीन कमाण्डर बल बहादुर वलीको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको हुँदा निजउपर सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदावी लिइएका आयोगले जनाएको छ ।
त्यस्तै आयोगले सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासनीविरुद्ध पनि अनुसन्धान गरिरहेको छ । इप्रका बुटवलमा हुँदा उनले पनि चालक परिवर्तन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्