
काठमाडौं । अन्नपूर्ण पदमार्ग घुम्न आउने पर्यटकको संख्या घट्न थालेको छ । अहिले दैनिक ८/१० जना पर्यटक मात्रै आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।
एक्यापअन्तर्गत् पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार वर्षायाम सुरु भएकाले पर्यटक घटेका हुन् । अन्नपूर्ण पदमार्ग विश्व पर्यटन बजारमै महत्वपूर्ण गन्तव्यमध्येमा पर्छ । यहाँ विगतमा दैैनिक ६ सय बढी पर्यटक आउने गरेका थिए ।
पर्यटन व्यवसायी भने पर्यटक घट्न थालेसँगै आम्दानीमा कमी हुँदा चिन्तित हुन थालेका छन् । कोरोना कहरले पदमार्ग सुनसान भएको थियो । जोखिम जोखिम कम भएपछि बढ्न थालेका पर्यटक फेरी घटेपछि थप मर्कामा परेको पर्यटन व्यवसयी पच्चबहादुर गुरुङले बताए ।
दैनिक ५० हजारसम्म आम्दानी हुनेगरेकामा अहिले शून्यमा झरेको उनको गुनासो छ । पदमार्ग आसपासका करिब ३ हजार ५ सय बढी पर्यटन व्यवसायीको समस्या पनि उस्तै छ । यस पदमार्गमा सबैभन्दा बढी फ्रान्स, जर्मनी, इटलीलगायत देशका नागरिक आउने गरेको एक्यापको तथ्यांक छ ।
गुरुङका अनुसार भदौ १५ गतेदेखि पर्यटक बढ्न थाल्नेछन् । हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न यहाँ पर्यटक आउने गरेका छन् ।
अन्नपूर्ण पदमार्ग लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी ५ वटा जिल्लासँग जोडिएको छ ।












