
काठमाण्डौ । आठौँ चुरे दिवस मनाइँदैछ । चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिनलाई हरेक वर्ष चुरे दिवसको रूपमा मनाउने गरिएको छ ।
दिवसका अवसरमा राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले आज १ लाख रुख, फलफूलका बिरुवा र बाँस रोप्न लागेको छ । वृक्षारोपण अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको दुधौली नगरपालिकामा रहेको विशाल सामुदायिक वनबाट शुभारम्भ गर्ने कार्यक्रम छ ।
असार महिना वृक्षारोपण महिनाका रूपमा मनाउँदै महिनाभरी कम्तीमा ५ लाख वृक्षारोपण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । चुरे क्षेत्र भनेको हिमालय पर्वतको सबैभन्दा दक्षिणमा रहेको माथिबाट बगेर आएका सामग्रीले बनेको कमलो र कमजोर पर्वत शृंखला हो । यसले देशको करिब १३ प्रतिशत भूभाग ओगटेको छ भने पूर्वमा इलामदेखि पश्चिममा डडेलधुरासम्म ३७ वटा जिल्लामा यो क्षेत्र फैलिएको छ ।
सरकारले उच्च प्राथमिकता दिएर सञ्चालन गरिरहेको चुरे संरक्षण कार्यक्रममा तीन तहका सरकारबीच समन्वयको अभाव देखिएपछि पालिकामार्फत सञ्चालन हुने गरी गुरुयोजना संशोधन गर्न लागिएको छ ।











