
काठमाडौं । बागमती सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा २०७९/८० को बजेट प्रस्तुत गर्दै उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गर्ने घोषणा गरेका हुन् ।
कृषि तथा पशुपालनमा प्रदान हुँदै आएको अनुदानको प्रभावकारिता नदेखिएकाले खारेज गरिएको मन्त्री जम्कट्टेलले बताए ।कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट आधुनिकीकरण, विशिष्टीकरण, यान्त्रिकीकरण, औद्योगीकरण र व्यवसायिकीकरण गरी रुपान्तरण गर्न कृषि तथा पशुपन्छी पालनमा संलग्न किसान, व्यवसायी र सहकारीलाई प्रोत्साहन र बजारको पहुँच सहजीकरण गर्न जोड दिएको उनले बताए ।
अब वास्तविक किसानलाई सहयोग गर्ने उद्देश्यले घुम्तीकोष स्थापना गरी समूह, निजी तथा सहकारी लक्षित गरी कार्य प्रगतिका आधारमा निव्र्याजी बीउ पुँजी किस्ताबन्दीमा उपलब्ध गराउन ५० करोड, अण्डा, माछामासु, आलु, प्याज र अदुवालगायतका वस्तुमा प्रदेशलाई आत्मनिर्भर बनाउन ४४ करोड ५० लाख विनियोजन गरिएको छ ।
हेटौँडामा निर्माणाधीन दुग्ध पाउडर प्लान्ट सञ्चालनमा ल्याउने तथा काभ्रेमा पनि मिनी दुग्ध पाउडर प्लान्ट स्थापनामा पनि बजेट छ । ११९ स्थानीय तहका लागि १ अर्ब ७५ करोड समानीकरण अनुदान, प्राङ्गारिक मल र गड्यौला मलको प्रयोग प्रोत्साहन गर्न ५ करोड ७५ लाख बजेट छुट्याएको छ ।











