Logo
Logo

मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन सञ्चालनमा



काठमाडाैं । मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ ।

मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाको विद्युत काठमाडौं ल्याउन यो प्रशारण लाईन बनाइएको हो । तनहुँको आँबुखैरनी गाउँपालिका मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्म ८२ किलोमिटर प्रसारण लाइनलाई १३२ केभीमा विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकामा थप विद्युत प्रवाहका लागि विश्वसनीय प्रसारण सञ्जाल तयार भएको बताए ।

‘भरतपुर–हेटौंडा १३२ केभी सिंगल सर्किट मात्रै भएकाले त्यहाँ पनि विद्युत प्रवाहका लागि समस्या थियो,’ उनले भने, ‘कुलेखानी नचलेको बेला मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइनमार्फत् विद्युतलाई काठमाडौं हुँदै हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ थप प्रवाह गराउन सकिन्छ, । यो लाइन काठमाडौं उपत्यकामा विद्युत प्रवाहका लागि लाइफ लाइन हो ।’

प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्टसँग २०७३ असारमा १ करोड ३ लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

तनहुँ, गोरखा, चितवन, धादिङ र काठमाडौंमा पर्ने प्रसारण लाइनमा २३३ टावर छन् ।

प्रतिक्रिया दिनुहोस्