Logo
Logo

प्रधानमन्त्रीले जवाफ नदिए संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी



काठमाडौं, २५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने घोषणा गरेको छ । बुधबार नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्रीले जवाफ दिन नमानेकामा आपति जनाउँदै बैठक अवरुद्ध गर्ने चेतावनी दिएको हो ।
आजको बैठकमा प्रश्न सोध्न पाउनुपर्ने माग राख्दै कांग्रेस नेताहरूले संसद अवरुद्ध गर्ने तयारी गरेका हुन् । कांग्रेस प्रमुख सचेतक खाँडले सभामुखले प्रश्न सोध्ने अधिकारबाट बञ्चित गर्न खोजेको आरोप लगाउँदै अधिकार प्राप्ति नगरेसम्म बैठक अबरुद्ध गर्ने बताए ।
प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वको वक्तव्य दिएपछि कांग्रेस सांसदले सोही दिन बैठक अवरोध गरेका थिए । प्रमुख सचेतक खाँडले प्रधानमन्त्रीले जवाफ नदिएसम्म अवरोध जारी रहने बताएका छन् ।
प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनुपर्ने माग गर्दै उभिएका कांग्रेस सांसदलाई सभामुख कृष्णबहादुर महराले प्रश्न उत्तरको समय होइन भन्दै समय नदिएपछि बैठक अवरुद्ध भएको थियो ।
यस्तै आज सभामुख महराले उक्त विषयमा नेपाल सरकारलाई जवाफ दिन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्