Logo
Logo

अरू चोर्ने पो चोर, छोरी चोर्ने त ज्वाँइ हो नि !



‘सेवारो ! तपाइँहरूको गाउँघरमा ठूलो बगैँचा रहेछ । बगैँचामा धेरै फूल फूलेछ ! फूलको सुवास ७ गाउँसम्म पुगेछ । त्यसलाई हाम्रो भमराले मन पराएछ । तपाईंहरूको फूल त हाम्रो भमराले टिपेर लगेछ ।’

सुँगुर, भाले र सिजङ्वा (रक्सी) बुझाउँदै चम्जोङ गाउँबाट आएका ‘इङ्मीबा’ (सरदार)ले भाँती पुर्याएर शेर्मा गाउँलेलाई भन्छन्- ‘लौ है आदाङ्वासे ! केही गल्ती पो भयो कि ? शेर्मा गाउँका एक युवा जंगिन्छन्- ‘त्यो भमराचाहिँ को त ?’ भमरा अर्थात् दुलहा ।

०००

आफूले हुर्काएकी चेलीलाई कसैले भगाएपछि माइती पक्ष रूष्ट हुने नै भए । ‘भमरा त आएकै पो छैन’ चेम्जोङ गाउँकाले भन्छन् ।

सुनुहाङले दुखेसोसहित प्रश्न गर्छन्- ‘एउटा कुरामा साह्रै दुःख लागेर आयो है काका । हिजोको दिनमा मैले त्यहीँ गाउँबाट मनमाया ल्याउँदाखेरि त्यो गाउँले मेरो रीत स्वीकार गर्याे ? अहिले कुन मुख लिएर कुटुम्बेरीमा आउनुभयो है ?’

विगतमा गल्ती गरेको स्वीकार गर्दै चेम्जोङ इङ्मीबाल भन्छन्- ‘अब, त्यति साह्रो त नभन्नुहोस् न हो । पहिले अञ्जानमा गल्ती भइहाल्यो, आदङ्वासे । त्यही गल्ती त दोहोर्याउनु हुन्न होला नि ?’

शेर्मा गाउँका अर्का प्वाक्क बोल्छन्- ‘पाहुनाहरू आउनुभयो कि ! तर, पहिलाकै साइनो छिनेको छैन । फेरि नयाँ कसोरी पो लिनु हो ?’

चेम्जोङ गाउँका नम्र भएर भन्छन्- ‘हैन नि, के गर्नु आदाङ्बा/आदङ्मासे– साउने झरी भदौरे भेल, के गर्नु हजुर कर्मको खेल !’

सुनुहाङ भन्छन्- ‘छुच्चो भयो भन्नुहोला कि, कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरकै खुट्टा टोक्नेचाहिँ हामी होइनौँ है ।’ बोली भुइँमा झर्न नपाउँदै शेर्मा गाउँकै अर्का प्वाक्क बोल्छन्- ‘है न नि सुनुहाङ, टोक्छु पो म त !’

चेम्जोङ गाउँका भन्छन्- ‘अब, अरू चोर्ने पो चोर, छोरी चार्ने त ज्वाइँ हो नि आदाङबासे ।

‘चोरको स्वर’ बुझाउँदा चेम्जोङ र शेर्मा गाउँबीच भएको संवाद हो यो । लिम्बू समुदायमा भागी विवाहपछि दुलही पक्षलाई जानकारी गराउन दुलाहा पक्ष ‘चोरको स्वर’मा जाने प्रचलन छ । अर्थात् केटाले केटी भगाएर लगेपछि केटा पक्षले केटी पक्षलाई सो कुराको जानकारी दिन जाने ‘रीत’लाई ‘चोरको स्वर’ भनिन्छ ।

चेम्जोङ गाउँका भीमहाङले शेर्मा गाउँकी सीमालाई भर्खरै भगाएका छन् । त्यसैले चेम्जोङ गाउँका इङ्मीबा नेतृत्वको तीनभाइ ‘चोरको स्वर’ बुझाउन शेर्मा गाउँ पुगेका हुन् ।

चोरको स्वर बुझाउन केटीको घर पुगेपछि त्यहाँ छलफल, बहस, सवाल–जवाफ हुन्छ । सवालहरूको वर्षा हुन्छ । माइती पक्षले उठाएका हरेक सवालको चित्तबुझ्दो जवाफ दुलाहा पक्षले दिनुपर्छ । केटी पक्षले जति गाली गरे पनि सहनुपर्छ । केटी पक्षले ‘चोरको स्वर’ स्वीकारेपछि मात्रै बिहेको चाजोपाँजो सुरू हुन्छ ।

०००

भीमहाङले शेर्मा गाउँकी सीमालाई भगाएर एउटा मिठो गल्ती गरेका छन् । त्यहीँमाथि शेर्मा र चेम्जोङ गाउँबीच पुरानो दुश्मनी । एक–अर्कालाई देखिसक्दैनन् ।

यसअघि चेमजोङ गाउँकी मनमायालाई शेर्मा गाउँका सुनुहाङले भगाएका थिए । तर, चेमजोङ गाउँले सुनुहाङको रीत नै खाइदिएनन् अर्थात चोरको स्वर नै बुझेनन् ।

मण्डला पुग्नेहरू ‘चोरको स्वर’मा सहभागी मात्रै हुँदैनन् । लिम्बू समुदायको बिहे खाएरै फर्कन्छन् । लिम्बू समुदायका दर्शक मख्ख पर्छन् भने गैरलिम्बू पनि दंगै परेर फर्कन्छन् ।

चोरको स्वर बुझाउन जाँदा चेम्जोङ गाउँकाले ‘भ्याकुरा खेदेझैं’ लखेटेका थिए । त्यो कुरा शेर्मा गाउलेले अझै विर्सेका छैनन् । यी दुई गाउँबीच चेली भगाएको पुरानो दुश्मनी त छँदैछ । विकास र राजनीतिको नाममा पनि दुश्मनी ।

चेम्जो गाउँमा बिजुली छ । घर-घरसम्म मोटर बाटो पुगेको छ । तर, शेर्मा गाउँमा बिजुली छैन, न त मोटर बाटो नै छ ।

शेर्मा गाउँकाले आफ्नो छोरीचेली भगाउँदा चेम्जोङ गाउँले स्वीकार गर्दैनन् । रीत बुझ्दैनन् । दुःख पाउने भए भन्दै दुःखी हुन्छन् ।

०००

एकअर्काप्रति यति विघ्न वैरभाव बोकेका गाउँबीच कुटुम्बेरी सम्बन्ध जोडन सहज छैन । तर, भीमहाङले सीमा भगाइहाले । चोरको स्वरमा जानैपर्याे । जति नै वैरभाव भएपनि अन्ततः शेर्मा गाउँले चोरको स्वर बुझ्छ ।

सीमा सानै हुँदा उनकी आमाको निधन भएको हुन्छ । उनलाई भाउजु मनमायाले स्याहार सुसार गरेर हुर्काएको हुन्छ । घरको कमजोर आर्थिक अवस्थाका बाबजुद पनि दाइभाउजुले सीमाको बिहे धुमधामले गरिदिन्छन् ।

बिहेमा सोल्टी–सोल्टीनी धान नाच्छन् । पालाम गाउँछन् । पालाम गाउँदा सवाल–जवाफका क्रममा सेसेहाङ र इक्सा (साल्टी–सोल्टीनी)को मायाप्रेम बस्छ । सबैजना विवाहको रमझममा रमाउँछन् । सेसेहाङले सोल्टिनी भगाउँछन् ।

सौहार्द रूपमा सम्पन्न हुन लागेको बिहे भाँडभैलोमा परिणत हुन्छ । तर, तुतु तुम्याहाङले थम्थम्याउँछन् । सम्झाउँछन्, माफी माग्छन् । त्यसपछि साम्य हुन्छ ।

०००

माथि उल्लेखित कथाको सार काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘चोरको स्वर’को हो । जसले लिम्बू समुदायमा भागी विवाहलाई दुरूस्तै उतारिदिएको छ । लिम्बू समुदायमा हुने विवाहको सौन्दर्य, संस्कार र संस्कृतिको व्यापकतालाई यो नाटकमा पस्किएको छ ।

लिम्बू समुदायमा भागी विवाहपछि हुने लफडाबाजी अनि हार्दिकतालाई नाटकमा प्रस्तुत गरिएको छ । बेलाबेला खुकुरी नचाउँदाचाहिँ लिम्बूमाथिको एउटा पुरानो भनाइ सम्झाइदिन्छ- ख्यालख्यालमै चार ईन्च !

झोंकी, रिसाहा र बदलाको भावनाले भरिएको युवामा आफ्ना छोरीचेलीप्रति देखाएको संवेदनशीलता र चिन्ताले विषेश अर्थ राखेको छ । नाटकमा लिम्बू समुदायको रहनसहन, बोली, लवज, खानपान र सिंगो समाजलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

बन्दुक पड्काउँदै, केः (च्याबु्रङ) नाच्दै विवाह उत्सव सुरु हुन्छ । बेहुला पक्षलाई बेहुली पक्षले आफ्नो संस्कारअनुसार सत्कार गर्छ ।

बेहुला पक्षका पाहुनाका लागि पराल विछ्याएर ‘डेरा साँगा’ (बस्ने ठाउँ) बनाइन्छ । विवाहको तामझाम, मासु र तोङ्वा, विदाईको बेला बेहुला पक्षलाई घरभित्र थुनेर खुर्सानीको धुवा लगाइदिन्छन् । बाल्टीबाट पानी खन्याइदिन्छन् ।

त्यो रमाइलो परिवेशमा स्वयम् समाहित भइरहेको महशुस हुन्छ । शहरका एक बन्द कोठामा होइन, पूर्वको कुनै लिम्बू गाउँमा पुर्याइदिन्छ ।

०००

लिम्बू समुदायमा कसैको चेली ल्याइसकेपछि उसलाई घर भित्राउनुअघि ‘राजी कि बिराजी ?’ भनेर सोधिन्छ । सीमालाई पनि सासुआमाले सोध्छन्– पाङ्ली (बुहारी) तिमी राजीमा आएकी हाँै कि बिराजीमा ? यसको मतलब लिम्बू समुदायमा नारीको इच्छाविपरीत केही हुँदैन ।

नाटकमा लिम्बू समुदायमा हुने मातृसत्ता अनुभूत गर्न पाइन्छ । पैतृक सम्पत्तिमा आफ्नो पेवामाथिको हकदेखि घरमा पुरूषको भन्दा बढी महिलाको कुरा चल्ने देखाइएको छ ।

नाटकका कतिपय दृश्यले भावुक बनाउँछ । चोरको स्वर गाउँले नबुझ्दा एउटा चेलीको भोगाइ । उनले आफ्नो भाइसँग साटेको बेदना । जन्मघर जान नपाउँदको पीडा सुन्दा आँखा रसाउँछ ।

वर्षैदेखि भेट्न नपाएका बुबा–आमा, छरछिमेक र गाउँघरका खबर भाइलाई सोधिरहँदा र बुबाआमाले छोरीको बारेमा लिएको चिन्ता सुनाइरहँदाको दृश्यले धेरैलाई भावुक बनाउँछ ।

नाटकमा लिम्बू संस्कारलाई मात्र देखाउन खोजिएको छैन । वर्तमानको विकासे अनुहारलाइ पनि उदाङ्गो पारेको छ । चिहानडाँडामा डोजरले बाटो खन्दा शेर्मा गाउँका एक वृद्धलाई चिन्ता हुन्छ-‘मैले चिहान पाउँछु कि पाउँदिनँ ।’

यो निकै घत लाग्दो छ । उनलाई आफू मर्ने चिन्ताभन्दा बढी आफ्नो संस्कार र संस्कृति मर्ने चिन्ताले सताउँछ ।

नाटकमा विकासको नाममा कसरी विनाश भइरहेको छ भन्ने प्रश्नका अन्तरकुन्तर खोतलिएको छ । विकासका नाममा पहिचानमाथि कुदाइएको डोजरले झनै सोचमग्न बनाउँछ ।

०००

नाटकले मुलुकको वर्तमान राजनीतिमाथि चोटिलो प्रहार गरेको छ । लिम्बूवान आन्दोलनले देखाएको लिम्बूवान स्वायत्त राज्यको सपना कसरी स्खलित भयो ? लिम्बूवान आन्दोलन कसरी सेलायो भन्ने पनि नाटकमा समेटिएको छ ।

नाटकमा लाहुरे संस्कृतिको प्रभाव पनि देखिन्छ । ‘स्ट्रगल’ बाउबाजेजस्तो लाहुरे बन्न चाहँदैनन् । उनलाई फुटबल खेलाडी बन्नुछ । ११ नम्बरे स्टाइकर ।

त्यस्तै अर्का पात्र छन्, फेसने लिम्बू । उनको नाम नै अर्थपूर्ण छ । जिन्स पाइन्ट लगाएर, क्यामेरा बोकेर उनले आधुनिकतालाई पछ्याइरहेका छन् ।

‘सोल्टीनीले तान्दै गरेको अवस्था’ भनेर भिडियो बनाउँदा सबैलाई हसाउँछ । आधुनिकताप्रतिको युवा मोहलाई प्रस्टाइएको छ । मोबाइल र क्यामेरा भेट्ना साथ जे देखेपनि भिडियो बनाउने पछिल्लो पुस्ताको प्रतिनिधित्व फेसनेले गरेका छन् ।

तर, कथाको याम र फेसनेको ‘सेल्फी भिडियो’ मिल्दैन । २०६५ आसपासको कथा भनिएको छ । जुन समयमा अहिले जस्तो क्यामेर प्रसस्त थिएन । जे देख्दा पनि खिचिहाल्ने समय थिएन । फोटो खिच्दा पनि ठाडो र तेर्सो भन्दै रिज जोगाउने समय थियो ।०००
नवीन चौहानको कथा र अनिल सुब्बा, अन्वेश थुलुङ राईको निर्देशन तथा परिकल्पना रहेको ‘चोरको स्वर’ मनोरञ्जनको खुराक मात्र नभई सांस्कृतिक, सामाजिक र राजनीतिकको मञ्चन पनि हो ।

मण्डला पुग्नेहरू ‘चोरको स्वर’मा सहभागी मात्रै हुँदैनन् । लिम्बू समुदायको बिहे खाएरै फर्कन्छन् । लिम्बू समुदायका दर्शक मख्ख पर्छन् भने गैरलिम्बू पनि दंगै परेर फर्कन्छन् ।

प्रतिक्रिया दिनुहोस्