Logo
Logo

भरतपुर महानगरले उठायो व्यवसाय दर्ताबाट पौने ६ करोड


- दृष्टि न्युज/संवाददाता


चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा व्यवसाय दर्ताबाट भरतपुर महानगरले पाँच करोड ७६ लाख ७९ हजार ४ सय १६ रुपैयाँ राजश्व संकलन गरेको छ ।

व्यवसाय दर्ता दस्तुर वापत उठेको कूल रकमको पाँच प्रतिशत उद्योग वाणिज्य संघ चितवन र तीन प्रतिशत चितवन उद्योग संघलाई दिइएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले मंगलबार एक समारोहबीच उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठलाई पाँच प्रतिशतले हुन आउने २३ लाख ७३ हजार नौ सय ७० रुपैयाँको चेक हस्तान्तरण गरेकी छन् । यसैगरी महानगर प्रमुख दाहालले चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेललाई तीन प्रतिशतले हुन आउने १४ लाख ३० हजार तीन सय ८२ रुपैयाँको चेक हस्तान्तरण गरिन् ।

भरतपुर महानगरपालिका नगर कार्यपालिकाले गत वर्ष साउनमा उद्योग वाणिज्य संघ चितवनलाई व्यवसाय दर्ता दस्तुर वापत संकलित रकमको पाँच प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । यसैगरी भरतपुर महानगरले चितवन उद्योग संघलाई व्यवसाय दर्ता दस्तुर वापत संकलित रकमको तीन प्रतिशत रकम उपलब्ध गराउने निर्णय गत वर्ष कात्तिकमा गरेको थियो ।

रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको आन्तरिक आय वृद्धि गरेको बताइन् । भरतपुर महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यको उत्कृष्ट नमुना प्रस्तुत गरेको भन्दै महानगर प्रमुख दाहालले यसलाई भविष्यमा पनि कायम राखिने बताइन् ।

महानगर प्रमुख दाहालले समयमै कर तिर्न आफ्ना उद्योगी तथा व्यवसायीहरुलाई प्रेरित गर्न दुबै संघका पदाधिकारीलाई आग्रह गरिन् । उनले उद्योग वाणिज्य संघ तथा उद्योग संघलाई हस्तान्तरण गरिएको रकम संघ र महानगरको सहकार्यमा करदाता शिक्षा र महानगरको भौतिक पूर्वाधार विकासमा खर्च गरिने जानकारी दिइन् । यसले उद्योगी तथा व्यवसायीहरुलाई अपनत्व बोध गराउने र महानगरपालिकाको विकास निर्माणमा थप जिम्मेवार बनाउने महानगर प्रमुख दाहालको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्