
काठमाडौं । केपी शर्मा ओलीले प्रतिनिधिसभा विघठन गर्दै संविधानमाथि प्रहार गरेर प्रतिगमनको बाटो रोजेपछि देश राजनीतिक रुपमा ध्रुविकृत छ ।
ओली प्रतिगमनसँगै एमाले र माओवादीको एकतापछि बनेको नेकपा विभाजन भयो । त्यसपछि एमाले पनि विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएको छ ।
ओली प्रतिगमनदेखि नै देश ध्रुविकृत भयो । मुलतः प्रतिगमनको पक्ष र विपक्षमा ध्रविकृत राजनीति पछिल्लो स्थानीय तह निर्वाचनसम्म आइपुग्दा पनि कायमै छ । यसले आगामी आम निर्वाचनसम्म निरन्तरता पाउने देखिन्छ ।
यसबीचमा सबै सत्ता गुमाउँदै एमाले सडकमा पुगेको छ भने नेकपा एक हुँदा सरकारको कल्पना नै नगरेको नेपाली कांग्रेको नेतृत्व देश अघि बढेको छ ।
काठमाडौंमा नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद बैठक जारी छ । हालै सचिवालय समिति, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीको बैठक सम्पन्न भयो ।
सम्पन्न सबै बैठकमा अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा छलफल भएको छ । जारी केन्द्रीय परिषदमा छलफल भएपछि उक्त प्रतिवेदन परिमार्जनसहित पारित हुनेछ ।
अध्यक्ष नेपालको ३४ पृष्ट लामो प्रतिवेदनलाई १२ बुँदामा प्रस्तुत गरिएको छ । प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएको छ । राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ ।
अध्यक्ष नेपालले नेपालको वर्तमान राजनीतिक शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी र वाम–लोकतान्त्रिक’ गरी दुई धारमा ब्याख्या गरेका छन् ।
एमाले नेतृत्वको शक्तिलाई अध्यक्ष नेपालले ‘दक्षिणपन्थी अवसरवादी धार’ भनेका छन् भने एकीकृत समाजवादीसमेत सम्मिलित पाँच दलीय गठबन्धनलाई ‘वाम–लोकतान्त्रिक धार’को रुपमा व्याख्या गरेका छन् ।
प्रतिवेदनमा अध्यक्ष नेपालले भनेका छन्– ‘मुुलुक यतिबेला राजनीतिक रूपले मूलतः दुई धारमा विभाजित छ । एउटा व्यक्तिवादी अहङ्कार, स्वेच्छाचारी, निरङ्कुश, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति बोकेको दक्षिणपन्थी अवसरवादी धार र अर्को संविधानको पूर्ण कार्यान्वयन गर्दै त्यसले निर्देश गरेको दिशामा मुलुकलाई अगाडि बढाउन चाहने वाम–लोकतान्त्रिक धार । अघिल्लो प्रवृत्तिको मूल बाहक केपी ओली हुन् भने वाम–लोकतान्त्रिक धारका अगुवा पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरू हुन् ।’
अध्यक्ष नेपालले ‘वाम–लोकतान्त्रिक धार’मा रहेका शक्तिको वर्गाधार र वर्ग चरित्र फरक रहेता पनि संविधानको कार्यान्वयन र राजनीतिक स्थिरताका लागि आजको आवश्यकता भनेका छन् ।
अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन– ‘वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलहरूको वर्गाधार र वर्ग चरित्र फरक–फरक भए तापनि संविधानको पूर्ण कार्यान्वयन, लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा आपसमा सहमत भएर गठबन्धनमा रही सहकार्य गरिरहेका छन् ।’
अध्यक्ष नेपालले प्रतिवेदनमार्फत वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनको औचित्य र आवश्यकताबारे पनि व्याख्या गरेका छन् । मुलतः संविधान लेखनमा सहकार्य गरेका दल संविधान कार्यान्वयनमा पनि एक हुनुपर्ने उनको धारणा रहेको छ ।
उनले भनेका छन– ‘यस गठबन्धन र सहकार्यलाई कम्तिमा पनि केही महिनापछि हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म कायम राख्नुपर्ने आवश्यकता छ । संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरूले संविधानको पूर्ण कार्यान्वयनमा पनि सहकार्य गर्नुपर्दछ भन्ने एकीकृत समाजवादीको मान्यता रहेको छ ।’
अध्यक्ष नेपालले दक्षिणपन्थी अवसरवादी धारको नेतृत्व गरिरहेको नेकपा एमालेबाट अझै पनि खतरा रहेको उल्लेख गरेका छन् । ‘षड्यन्त्रका तानाबाना अझै पनि बुनिदैछन्’ भनेका अध्यक्ष नेपालले यसलाई परास्त गर्न ‘वाम–लोकतान्त्रिक’ गठबन्धनलाई कायम राख्नुपर्नेमा जोड दिएका छन् ।











