Logo
Logo

धनगढी विष्फोटः विप्लवका कार्यकर्ताको मृत्यु


- दृष्टि न्युज/संवाददाता


धनगढी, ३ साउन ।
धनगढीको चटकपुरस्थित निलम होटेलमा बिहीबार बेलुका भएको बम विस्फोटमा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बझाङको जयपृथ्वी नगरपालिका घर भएका रामबहादुर सिंहको उपचारका क्रममा धनगढीस्थित मायामेट्रो अस्पतालमा बिहीबार राति मृत्यु भएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । सिंह आफैंले बम बोकेका थिए । उनी विप्लव समूहका कार्यकर्ता भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

बम विस्फोटका कारण घाइते भएका उनको ढाडमा गम्भीर चोट लागेको थियो । उनले पिठ्युमा बोकेको बम अचानक विस्फोट भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । मृतक सिंह र गम्भीर घाइते कञ्चनपुरको बेल्डाँडीका लक्ष्मण सेराला विप्लव समूहका कार्यकर्ता र माओवादी पूर्वलडाकु भएको खुलेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।
विस्फोटमा परी घाइते भएका सेराला, निलम होटलका सञ्चालक केशवराज पाण्डे, धनगढी उपमहानगरपालिका–४, का जितेन्द्र यादव र चटकपुरमा ग्यारेज सञ्चालन गर्दै आएका भारतीय नागरिक मोविन खानको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ ।

बिहीबार बेलुकी सात बजेतिर टिफिन बक्समा राखिएको विस्फोटक पदार्थ विस्फोट हुँदा उनीहरु घाइते भएका थिए । मोटरसाइकमा आएर होटेलमा नास्ता खान बसेका मृतक सिंह र गम्भीर घाइते सेराला आएको एकैछिनमा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्