Logo

अब लेनिनवादी संगठनात्मक सिद्धान्तले काम गर्दैन


दामोदर अर्याल


नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको करिब १० महिना भयो । पार्टी स्थापनाको १० महिनामै एकीकृत समाजवादी पार्टीले पाँचदलीय गठबन्धन गर्दै वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको सामना पनि गर्यो ।

निर्वाचन परिणाम लगत्तै यस पार्टीका बारेमा विभिन्न कोणवाट टिका टिप्पणी भइरहेको छ । केहीले यो पार्टीको भविष्यको बारेमा शंका व्यक्त गरिरहेका छन ।

यो शंकाको आधार भनेको प्राप्त परिणाम नै हो । तर उनीहरु के बुझदैनन् भने यो पार्टी नयाँ हो र यसको उमेर १० महिना पनि भएको छैन । यति छोटो अवधिमा यसले प्राप्त गरेको उपलब्धी कम होइन ।

तथापि, सच्याउन पर्ने वा ध्यान दिनुपर्ने कुराहरु धेरै छन् । यसका सन्दर्भमा केही छलफल गर्ने उद्देश्य यो पंक्तिकारको हो ।

विचारका क्षेत्रमा
नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त प्रभावित पारेको विचार हो, जनताको बहुदलीय जनवाद । यसबारे पार्टीले बुझिने भाषामा प्रष्ट पार्नु पर्छ ।

एमाले गुटले ‘जबज’का बारेमा थप व्याख्या त गर्दैन, तर पनि उसले यो शब्दलाई जोडतोडका साथ उठाइरहेको छ । उ पनि जबजको परम्परागत विश्लेषणमा रुमल्लिरहेको देखिन्छ ।

जबजले उठान गरेका मागहरु वर्तमान संविधानले व्यवस्था गरिसकेको सन्दर्भमा अब यसको उपादेयताका सन्र्दभमा एकीकृत समाजवादीले छलफल गर्नु पर्छ र निष्कर्ष निकाल्नु पर्छ । यो सन्दर्भ पार्टी गठनकै बेलामा उठान गरिनु पर्दथ्यो । त्यो हुन सकेन ।

गोलमाल भाषा प्रयोग गरेर ऊ अगाडि बढ्यो । त्यसकारण मान्छेहरुले विचारका क्षेत्रमा एमाले र एकीकृत समाजवादीका विचमा भिन्नता ठम्याउन सकेनन् । यसको प्रत्यक्ष असर निर्वाचनमा देखियो ।

विचारको सन्दर्भमा अब ‘जबज’ भनेर हुँदैन । अब लेनिनवादी संगठनात्मक सिद्धान्तले मात्र पनि पुग्दैन । हामीले कल्पना गरेको साम्यवादी समाजका चरित्रहरुको झलक पार्टी जीवनमा देखापर्नुपर्छ । यो कामको शुरुआत पनि अब एकीकृत समाजवादीबाटै सुरु गरिनुपर्छ ।

जबजले नेपालको कम्युनिष्ट आन्दोलनको सफलतापूर्वक नेतृत्व गरेको कुरामा कुनै शंका छैन । आजसम्म नेपालले प्राप्त गरेको राजनीतिक उपलब्धिहरुमा जबजको महत्वपूर्ण योगदान छ । त्यो योगदानले नेपाली समाजको विकासमा उल्लेखनीय भूमिका पनि खेल्यो ।

अहिले समाज विकासको क्रममा नेपाल जुन ठाँउमा उभिएको छ, त्यहाँबाट अगाडि जान भने अव जबजले नेतृत्व गर्न सक्दैन । यो कुरा एकीकृत समाजवादीले प्रष्टसँग बताउनु पर्दथ्यो । त्यो बताउन सकेन ।

कुनै समय प्रगतिशील भनिएको विचार समाज विकासकै क्रममा त्यो विचार यथास्थिति वा प्रतिगामी पनि हुनसक्छ ।

जंगली युगमा बाँचिरहेको विश्व दुँनियामा दासप्रथामा आधारित समाज पनि प्रगतिशील नै थियो । सामान्ती व्यवस्थाले दासयुगलाई अप्रासंगिक बनाइदियो । मानव सभ्यताको इतिहासमा सामान्ती व्यवस्थालाई राष्ट्र, राज्य, मानविय मुल्य, मान्यता,संस्था र धर्म संस्कृतिको विकासका हिसावले गौरवपूर्ण मानिन्छ ।

त्यो बेला सामन्ती व्यवस्था कम प्रगतिशील थिएन । तथापि, पूँजीवादी व्यवस्थाले सामान्ती युगलाई विस्थापित गरेर आफूलाई झन प्रगतिशील सावित गरेको इतिहास पनि भुल्न हुँदैन ।

आजको दिनमा पूँजीवादी व्यवस्था प्रतिक्रियावादी व्यवस्थामा रुपान्तरित भएको छ । यसलाई विस्थापित गर्न समाजवाद तयार छ ।

हामीले कल्पना गरेको साम्यवाद स्थापना भएको खण्डमा समाजवादी व्यवस्थाका पक्षधरहरु पनि त्यतिखेर यथास्थितिवादी हुन सक्छन ।

भन्न खोजिएको कुरा के हो भने– मानव जातिको चेतनामा भएको वृद्धिले समाज निरन्तर अगाडि बढ्छ । अगाडि बढ्नवाट रोक्न खोज्ने कुनै पनि विचार वा व्यवस्था आफ्नो कालखण्डमा जतिसुकै प्रगतिशील भए पनि विस्तारै यथास्थितिवादमा परिणत हुँदै जान्छ ।

सोभियत संघको पतन र लेनिनका शालिकहरु त्यसै ढालिएका होइनन् । यसका लागि विश्व पूँजीवादलाई गालि गरेर मात्र संसारका कम्युनिष्टहरु ठिक ठाँउमा पुग्दैनन् । तत्कालीन सोभियत सत्ताको यथास्थितिवादी रुझानको पनि अध्ययन गरिनु पर्छ ।

आज जबजको हालत पनि त्यही हो । यसले परिकल्पना गरेको राजनीतिक र सामाजिक व्यवस्थामा हामी अहिले बाँचिरहेका छौ । जबजले खोजेको समाज यही हो र जुन प्राप्त भइसकेको छ । अब समाजलाई थप विकसित गर्ने हो भने विचारलाई पनि थप परिष्कृत गर्नै पर्दछ । अन्यथा, समाजको गतिशीलतालाई हामीले नेतृत्व गर्न सक्दैनौँ । यस कामको नेतृत्व अब एकीकृत समाजवादीले गर्न पर्दछ ।

संगठनको क्षेत्रमा
कम्युनिष्ट संगठनको कुरा गर्दा एमालेलाई बाहिर राख्नुपर्छ । किनकि, उसले आफ्नो संगठनमा निरंकुश राजतन्त्रको विकास गरिसकेको छ ।

यसको मुखियाको आदेश वा फर्मान नै त्यो पार्टीको फैसला हो । तर अन्य कम्युनिष्ट पार्टीहरु पनि संगठनको क्षेत्रमा पुरानो तरिका र शैलीबाट माथि उठ्न सकेका छैनन्, जसलाई उनीहरु लेनिनवादी संगठनात्मक सिद्धान्तको नाम दिन्छन् ।

विचारको क्षेत्रमा निरन्तर विकास हुन्छ र गर्नु पर्दछ भने मान्यता राख्ने हो भने संगठनात्मक क्षेत्रमा चाहिँ लेनिनकै पालाको सिद्धान्त अवलम्बन गर्ने तरिका कसरी प्रगतिशील हुनसक्छ ? विचारणीय प्रश्न छ ।

अब पार्टीले आम जनताका लागि आफूलाई खुला राख्नुपर्छ । संगठनात्मक क्षेत्रमा ढोका बन्द गरेर आजको दुनियाँमा पार्टी बन्दैन । हर्क र बालेनहरु जस्तालाई पार्टीमा प्रवेश र प्रतिस्पर्धाको सहज व्यवस्था हुनसक्यो भने उनीहरु जस्ताले आफूलाई स्वतन्त्र भनाउने छैनन् ।

हाम्रै इतिहासमा पनि सम्मानित नेता झलनाथ खनाल कम्युनिष्ट पार्टीको महासचिव हुँदा ३५ वर्ष र जननेता मदन भण्डारी ३८ वर्षको हुनुहुन्थ्यो । आज कम्युनिष्ट पार्टीहरुको केन्द्रीय कमिटीमा हेर्ने हो भने बुढाहरुको जमघट देखिन्छ ।

यो लेखको आशय पुराना नेताहरुको अपमान गर्ने होइन, उहाँहरुलाई सम्मानका साथ राख्ने पार्टीका कैयौँ निकायहरु छन् वा पर्याप्त नभए निर्माण गरिनुपर्छ । तर उनीहरुको सिन्डिकेट आजको समस्या हो ।

सिण्डिकेटको समाप्ति र युवाहरुप्रति विश्वास र भरोसा नगरी अबको कम्युनिष्ट आन्दोलन जीवित रहन सक्दैन । कार्यकारीणी स्थानहरुमा युवाको प्रतिनिधित्वका लागि उदार हुने कामको शुरुआत पनि एकीकृत समाजवादीले गर्नुपर्छ । अनि मात्र यो पार्टी अरु पार्टीहरुभन्दा भिन्न हुन्छ ।

युवालाई प्राथमिकता
राजकीय निकायहरुमा पठाउने पार्टी कार्यकर्ताहरु सम्बन्धित तहका पार्टी सदस्यहरु बिच निर्वाचन गराएर मात्र तय गर्ने तरिका आजको माग हो । यो माग सम्बोधन गरिएन भने समाजभित्रबाट अनेकाँै हर्क र बालेनहरु जन्मने छन ।

समाजमा अन्य क्षेत्रमा विशिष्टता हासिल गरेका, योग्य र लोकप्रिय युवा कम्युनिष्ट पार्टीको झण्डा उठाएर राजकीय निकायहरुमा जान चाहन्छन् भने सम्वन्धित क्षेत्रका पार्टी कमिटीहरुमा प्रस्ताव राख्न पाउने अधिकारलाई खुला गर्नु पर्छ ।

पार्टी संगठनहरुको निर्माण गर्ने काममा पनि युवालाई प्राथमिकतामा राखिनु पर्दछ । मान्छे नेतृत्वको दास बन्न अब कम्युनिष्ट पार्टीमा आउदैनन् । कम्युनिष्ट पार्टी सैनिक संगठन होइन । आफूभन्दा उपल्लो कमिटीका कमरेडहरुलाई खुट्टा ठटाएर सलाम गर्ने सोचमा फेरबदल ल्याउनैपर्छ ।

माथिल्लो कमिटीको मातहत तल्लो कमिटी, हरेक कमिटीको मातहतमा व्यक्ति भन्ने सिद्धान्त अब पुरानो भयो । हरेक कमिटीलाई आ–आफ्नो क्षेत्रमा सार्वभौम अधिकार सम्पन्न बनाउने र निर्णय गर्न दिने तरिका नै आजको दुनियाँको सबभन्दा प्रगतिशील तरिका हो ।

मातहत भन्ने शब्दले मान्छेको स्वतन्त्र व्यक्तित्व र अस्तित्वलाई नियन्त्रण गर्दछ । कम्युनिष्ट पार्टीमा मान्छेहरु स्वतन्त्र बन्न आउने हो, दास बन्न होइन ।

यहाँभित्रको ब्यूरोक्रेसीलाई समाप्त नपारी अब कम्युनिष्ट पार्टीहरु बाँच्न सक्दैनन् । कम्युनिष्ट पार्टी र यसका सदस्यहरु साम्यवादका भु्रणहरु हन । पार्टीको नजरमा सबै सदस्यहरु समान र सार्वभौम बनाइनुपर्छ ।

हामीले कल्पना गरेको साम्यवादी समाजका चरित्रहरुको झलक पार्टी जीवनमा देखापर्नुपर्छ । यो कामको शुरुआत पनि अब एकीकृत समाजवादीबाटै सुरु गरिनुपर्छ ।

गठबन्धनका सन्दर्भमा
हरेक पार्टीको आ–आफ्नो विचार, सिद्धान्त र कार्यक्रम हुन्छ । तदनुकूलको मतदाता समूह पनि हुन्छ । चुनाव जित्नका लागि मात्र गरिने गठबन्धन अराजनीतिक हो । यसले संगठनभित्र अल्छीहरु जन्माउँछ ।

गत स्थानीय तह निर्वाचनमा गठबन्धन भइहाल्छ, अरुले हामीलाई भोट हाल्दिन्छन् र हामी निर्वाचन जितिहाल्छाँै भन्ने भ्रममा हाम्रा नेता कार्यकर्ताहरु ढुक्क भए । परिस्थिति त्यस्तो भएन र हँुदैन थियो पनि ।

गैर कम्युनिष्टहरुको मतले कम्युनिष्ट पार्टी निर्माण कहाँ हुन्थ्यो र ? हामीसँग भएको १० महिनाको समयमा विचारको क्षेत्रमा, संगठनको क्षेत्रमा र विभाजनको औचित्य प्रमाणित गर्ने सन्दर्भमा जनतालाई बुझाउने काममा खर्च गरेको भए आज प्राप्त परिणाममा उल्लेख्य बढोत्तरी हुने थियो । हामी चुकेका छौँ । यसबाट शिक्षा लिनै पर्दछ ।

मान्छेहरु विचारको वरिपरि जम्मा हुन्छन । तपाईंले अरुभन्दा भिन्न विचार र कार्यक्रम दिन सक्नुभएन भने उनीहरु तपाईंसँग किन आउने ? हामीसँग पर्याप्त तर्कहरु थिए ।

भन्न सकिने र जनतालाई आकर्षित गर्ने मुद्दाहरु पनि थिए । हामीले भन्दै भनेनौँ । भन्नै चाहेनौँ । एमाले जसरी चल्यो, त्यसरी चलाउने प्रयत्न गर्यौं ।

हामीसँग जोडिन चाहने एमाले कार्यकर्ताहरुलाई स्वागत गर्न पनि हिच्किच्यायौँ । यसको सबै दोष पार्टी नेतृत्व र केन्द्रीय कमिटीलाई दिनुपर्छ । ठूलो र फराकिलो छाती नबनाई पार्टी निर्माण हुँदैन ।

अन्त्यमा, स्थिति अझै बिग्रिसकेको छैन । गत स्थानीय तहको निर्वाचनमा जनताले हामीलाई अनुमोदन गरेका छन् । लाखौँ मतदाता हाम्रो पक्षमा लामवद्ध भएका छन् । हाम्रा मतदाताहरुलाई अझै विश्वस्त बनाउन विचारका क्षेत्रमा र संगठनका क्षेत्रमा कामको थालनी गर्नुपर्छ । विचार र संगठनले मात्र लडाइँ जितिन्छ ।

चुनावहरु आउँछन्, जान्छन् । हाम्रो पार्टीलाई चुनावी पार्टी होइन, कम्युनिष्ट पार्टी बनाउन प्रयत्न गर्नुपर्छ । त्यो पनि पुरातन कम्युनिष्ट पार्टी होइन, युवा बाहुल्यता र प्रगतिशील कम्युनिष्ट पार्टी बनाउनुपर्छ । यस काममा आजैदेखि लागौं, भविष्य हाम्रो उज्वल छ ।

(लेखक, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्