
काठमाडौं । अभ्यास खेलमा नेपालले क्यानडियन क्लब ओन्टारियो क्रिकेट एकेडेमीलाई पराजित गरेको छ ।
बिहान सम्पन्न खेलमा नेपाल ६९ रनले विजयी भएको हो । २२१ रनको लक्ष्य पछ्याएको ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन मात्र बनाउन सक्यो ।
उसका लागि रियाज खान पठानले सर्वाधिक ३६ रनको योगदान दिए । नेपालका पवन सर्राफले तीन, किशोर महतो र आरिफ शेखले दुई/दुई विकेट हात पारे ।
त्यसअघि किङ्ग सिटीस्थित मेपल लिफ मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २२० रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले अर्धशतकीय पारी खेले ।
५९ बलको सामना गरेका उनले आठ चौकासहित ५७ रन बनाए । आसिफ शेखले ४२, देव खनालले २७ र बसिर अहमदले २४ रन जोडे ।
ओन्टारियोका शिलत पटेलले तीन तथा अमर खालिद, किनान्न टिन्टो, जाडे पड्मोर र दर्शिल पटेलले एक/एक विकेट लिए ।
नेपालले अब जुलाई ४ र ५ मा क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।











