Logo
Logo

अख्तियारमा २४ हजार, ३ सय ५१ मुद्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ साउन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतासँगै उजुरी पनि बढेका छन् । गत वर्ष २४ हजार ४८ वटा उजुरी आयोगमा परेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । अघिल्लो वर्ष १९ हजार ४ सय ८८ उजुरी परेको थियो । आयोगमा परेका उजुरीमध्ये ६५ प्रतिशत फस्यौट भएको छ । उजुरीमध्ये नौ सय २१ वटा विस्तृत अनुसन्धानमा रहेको आयोगले जनाएको छ ।

मुद्दामा नयाँ रेडर्क
एक वर्षमा सर्वाधिक मुद्दा दायर गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ रेडर्क बनाएको छ । आर्थिक वर्ष २०७५÷७६ मा आयोगले तीन सय ५१ वटा मुद्दा दायर गरेको हो ।
२९ वर्षको आयोगको इतिहासमा गत वर्ष सबैभन्दा धेरै मुद्दा दायर भएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । यसअघि आर्थिक वर्ष २०७१÷७२ मा सर्वाधिक तीन सय ३ वटा मुद्दा दायर भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७४÷७५ मा एक सय ९४ वटा मुद्दा दायर भएको थियो ।
एक वर्षमा दुई सय जना रंगेहात पक्राउ
गत आर्थिक वर्षमा रंगेहात घुससहित दुई सय जना पक्राउ परेका छन् । एक सय ४२ वटा स्टिङ अप्रेसनमा दुई जना बिशिष्ट श्रेणीका कर्मचारीसहित दुई सय जनालाई आयोगले पक्राउ गरेको हो । रंगेहात पक्राउ पर्नेमा दुई जना सहसचिव, १० जना उपसचिव, ३२ जना उपसचिव, ४७ जना नासु, १५ जुनियर कर्मचारी र २४ जना कार्यालय सहयोगी वा सो सरह पक्राउ परेका छन् ।
अदालतबाट सफलता बढ्यो
भ्रष्टाचार मुद्दामा अदालतबाट समेत सफलता बढेको विवरण आयोगले सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा बिशेष अदालतबाट भएका फैसलामध्ये ८८.५ प्रतिशत आयोगको दाबीसहित नै भएको छ । अघिल्लो वर्ष मुद्दामा सफलता ६७.८२ थियो ।
नवीन कुमार घिमिरे आयोगको प्रमुख आयुक्तमा नियुक्त भएपछि आयोगको सक्रियता र मुद्दा दायर बढेको हो ।

प्रतिक्रिया दिनुहोस्