Logo
Logo

प्रदेश १ को बजेट बहुमतले पारित



विराटनगर । प्रदेश १ को आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभाको बैठकबाट बहुमतले पारित भएको छ ।

आइतबार बसेको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकार गरेपछि आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । सो प्रस्ताव सभामुख प्रदीपकुमार भण्डारीले संसदमा निर्णयार्थ पेश गरेका थिए ।

प्रदेश १ संसदको पहिलो कार्यकालको यो अन्तिम बजेट गठबन्धन सरकारले ल्याएको हो । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट असार १ मा संसदमा प्रस्तुत गरेको थियो । बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्ता २ अर्ब रहेको छ ।

बजेटको अनुमानित स्रोत प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख प्राप्त हुने अनुमान छ ।

यस्तै, राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरिने र बाँकी नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख तथा वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख व्यहोरिने मन्त्री आङ्बोले बताएका छन् ।

चालू आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको सरकारले करिब २१ प्रतिशत वृद्धि गरेर नयाँ बजेट ल्याएको थियो ।

बजेटमार्फत् प्रदेश सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ । उत्पादनमा आधारित अनुदान सोझै किसानलाई दिने कार्यक्रम अघि सारेको सरकारले आगामी आर्थिक वर्षदेखि दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्