
काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति सम्पन्न खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई नेपालले ५५ रनले हराएको हो । २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९.३ ओभरमा अलआउट हुँदै १ सय ५४ रनमा समेटियो ।
ओन्टारियोका लागि भरुण सेहदेवले ५० रनको अर्धशतकीय पारी खेले भने नरेश बुढाऐरले ४१, जाडे पाडेमोरले ३७ रन बनाए ।नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदिल आलम र किशोर महतोले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेल ७१ र दीपेन्द्र सिंह ऐरीले ५४ रनको अर्धशतकीय पारी खेले ।
यस्तै, पवन सर्राफले ३७, देव खनालले २० रन जोडे ।











